दशैंका लागि जहाजका टिकट सकिए, कुन एयरलाइन्सले कहाँ उडान थप्दै छन् ?



काठमाडौं । दसैं घर जानको लागि हवाई मार्ग खोज्दै हुनुहुन्छ भने सत प्रतिशत टिकट सकिएको छ । एयरलाइन्स कम्पनीहरुले नियमित उडानको टिकट सकिएकोले अव अतिरिक्त उडान थप बाट मात्र केही यात्रुले राहत पाउने छन् । एयरलाइन्सहरुका हवाइ टिकट फुलपातीको अघिल्लो दिनदेखि टिकाको दिनसम्म बुकिङ भइसकेको छ ।

बुद्ध एयरलाइन्स, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, तारा एयरलाइन्सलगायतका आन्तरिक उडान भर्ने कम्पनीहरुले अतिरिक्त उडान थप्ने जनाएका छन् ।
कम्पनीहरुले यात्रुको चाप भएको ठाउँमा उडान थप्ने जनाएका छन ।

‘नियमित उडानको केही गन्तव्यमा बाहेक टिकट सकिएको छ, अव कहाँ कति अतिरिक्त उडान थप्ने भन्ने विषयमा छलफल गरिरहेका छौ,’ बुद्ध एयर प्रालि मार्केटिङ म्यानेजर बिनीता थापाले भनिन् । सडकमार्ग अव्यवस्थित भएका कारण छिटो र सहजै यात्रा गर्ने हेतुले यसपाली हवाइ यात्रुहरुको चाप निक्कै बढेको थापा बताउँछिन् । बुद्धले सिमरा, भरतपुर, नेपालगन्ज, पोखरा, भैरहवा, तुम्लिङटार, भद्रपुर लगायत गन्तव्यमा अतिरिक्त उडान थप गर्न लागेको छ ।

यति एयरलाइन्सले पनि नियमित उडानका टिकट सकिएकोले भैरहवा, भरतपुर, सिमरा, नेपालगन्ज, पोखरा लगायत गन्तव्यमा अतिरिक्त उडान थप गर्न लागेको यति एयरलाइन्सका प्रवक्ता भिम राईले जानकारी दिए । ‘हामीहरु तयारी गर्दै छौ यति उडान अत्तिरिक्त भन्ने अझै फाइनल भइसकेको छैन,’ राईले भने ।

दसैंको लागि तारा एयरलाइन्समा पोखरा, जोमसोम, लुक्ला डोल्पा लगायतका विकट स्थानहरुको लागि अग्रीम टिकट बुकिङ भइसकेको र तत्काल टिकट पाउन गाह्रो रहेकोे तारा एयरले जनाएको छ । १५ जना प्यासेन्जर अट्ने क्षमता रहेको तारा एयरलाइन्सले सेवाग्राहीहरुको समस्यालाई मध्यनजर राख्दै उडान थप्ने योजना रहेको छ ।

सिम्रिकले पनि भैरहवा र पोखरामा अत्तिरिक्त उडान थप गर्न लागेको एयरलाइन्सले जनाएको छ । त्यस्तै गरी श्री एयरलाइन्सले पनि धनगढी, विराटनगर तथा नेपालगन्जमा थप उडानको तयारी थालेको छ । त्यस्तैगरी सौर्य एयरले पनि थप उडानको तयारी भएको जनाएको छ ।


क्लिकमान्डु