अलैँचीको बजार र मूल्य घटेपछि गोदाममै थन्कियो, खेती विस्तार गर्ने क्रम घट्दो
ताप्लेजुङ । ‘गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान भएको छु,’ आठराई त्रिवेणी गाउँपालिकाका कृषक जनार्दन प्रसार्इंले टेलिफोनमा भने ।
नर्सरीबाटै सिन्धुपाल्चोकसम्म मनग्य बिरुवा बेच्न सफल भएका प्रसाईंले हौसिएर यसपटक नर्सरीमा थप लगानी पनि बढाए । तर हुर्किएका बिरुवा सोचेजस्तो बिक्री नभएपछि उनलाई हैरानी भएको छ ।
यता, लामो समयदेखि व्यावसायिकरुपमा नर्सरी गर्दै आएका स्थानीयवासी अर्का कृषक भिङ्मारे लिम्बूले पनि आफूले हुर्काएका बिरुवा बिक्री नभएको सुनाउँछन् ।
‘नर्सरीमै फुल्न थालिसक्यो । उखेलेर फाल्नु पनि कसरी ? लगानी खेर जाने भयो,’ उनले भने ।
उता सिरिजंघा–७ खेवाङका नेत्र आचार्यको पनि समस्या उस्तै छ । यी त उदाहरणका पात्र मात्रै हुन् । जिल्लाका दर्जनौँ कृषकले दानाबाट नर्सरी गरेर उमारेको बिरुवा बारीमै थन्किएका छन् ।
अलैँचीखेती विस्तारमा कमी आएसँगै अपेक्षाकृतरुपमा बिरुवा बिक्री नभएको हो । मूल्य आकाशिएपछि खेतबारी नै मासेर अलैँचीको खेती विस्तार गर्न थालेका किसानले मूल्यमा आएको कमी र विभिन्न रोग कीरा लाग्न थालेपछि अहिले खेती विस्तार गर्ने क्रम घटेको हो ।
अलैँचीको बजार र मूल्य घटेपछि अलैँची किसान निकै चिन्तित बनेका छन् । बजारभाउ अहिलेकै अवस्थामा कायम रहे अलैँची हटाएर पुरानै खेती गर्ने सोच कतिपय किसानको छ । सिदिंवा गाउँपालिकाका कृषक भूपाल मङ्रातीले बजार र मूल्यको अवस्था यस्तै रह्यो भने पुरानै खेती गर्ने सोच बनाएका छन् ।
अलैँची व्यवसायकै सन्दर्भमा सञ्चालित एक गोष्ठीमा सहभागी हुन सदरमुकाम आएका मङ्रातीले भने, ‘वर्षभरि खान पुग्ने खेतबारी मासेर अलैँची रोपियो । त्यसमाथि सिँचाइलगायतका काममा ठूलो खर्च गरियो तर यही अवस्था रहिरह्यो भने कुनै फाइदा छैन । उल्टै ऋण लाग्ने भयो ।’
भिरालो जंगल क्षेत्रमा खेती गर्न सकिने भए पनि खेतबारी नै मासेर भने खेती गर्न नसकिने मङ्राती बताउँछन् । वर्षभरिमा एउटै जमिनबाट उत्पादन हुने अन्नपात, तरकारी, फलफूल, घाँसपात आदिको हिसाब गर्दा हालको बजारभाउमा बेचिने त्यही उत्पादित अलैँचीको मूल्यको तुलनामा निकै बढी हुने कृषक बताउँछन् ।
विगतका वर्षहरुमा ताप्लेजुङमा बिरुवा पाउन निकै हम्मेहम्मे पथ्र्यो । यहाँ उत्पादित बिरुवाले नपुगेर बाहिरी जिल्लाबाट झिकाउनुपथ्र्यो । प्रतिबिरुवा आठ रुपैयाँदेखि १५ रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । तर यो वर्ष भने पाँच रुपैयाँका दरले पनि बिक्री गर्न नसकिएको कृषकको भनाइ छ । बेर्नाबाट भन्दा बीजबाट उत्पादित बिरुवा निरोगी र लामो समयसम्म उत्पादन दिने हुन्छ । तर सबैलाई यसबारे जानकारी नहुनु पनि थप समस्या रहेको बिरुवा उत्पादकहरु बताउँछन् । यता जिल्ला कृषि विकास कार्यालयमा पनि यो वर्ष कृषकबाट भनेजस्तो माग नआएको कार्यालयले जनाएको छ ।
गत वर्षको यही समयमा अलैँची व्यापारीका गोदाममा नयाँ अलैँचीका बोराले प्रवेश पाउँथे । तर अहिले पुरानै अलैँचीले गोदाम छाडेको छैन । क्रमशः घट्दै गएको भाउ बढ्छ कि भन्ने आशामा बिक्री नगरी राखिएको अलैँचीको कारोबार अहिले पूरै सुस्ताएको छ ।
प्रतिमन (४० किलो) को ८० हजार रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरेर राखिएको अलैँचीको भाउ क्रमशः घट्दै गएपछि कारोबार नै नभएको हो । अलैँची व्यवसायी बुद्ध दाहालले गत वर्ष ८० हजारदेखि एक लाख रुपैयाँसम्ममा किनेर राखिएको अलैँची अहिले पनि गोदाममै थन्किएको बताए ।
‘बेचौँ ठूलो घाटा हुन्छ, राखौँ त गोदाममै ढुसी पलाएर कुहिने भयो । अलैँचीको मूल्य घटेपछि किसानमात्रै नभई कारोबारमा संलग्न व्यवसायीसमेत डुबेका छन्,’उनले भने ।
एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ओलाङ्चुङ्गोलाबाहेक सबै क्षेत्रको कूल चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिन्छ । प्रतिमन एक लाख रुपैयाँको हाराहारीमा भाउ चल्दा यो जिल्लाबाट पाँच अर्ब रुपैयाँ भन्दा बढीको अलैँची निर्यात भएको थियो ।