कर्मचारी सरुवामा असयोग गरेपछि सामान्य प्रशासनमन्त्री बस्नेतले सचिव सापकोटाको सरुवा गरे



काठमाडौं । स्वार्थ मिल्दासम्म सँगै काम गर्न तयार हुने मन्त्री र सचिवहरुको सम्बन्ध स्वार्थ बाझिने बित्तिकै खण्डित हुने गरेको छ ।

यस्तै भएको छ, सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत र सचिव मोहनकृष्ण सापकोटाको । कर्मचारी सरुवामा असहयोग गरेको भन्दै मन्त्री बस्नेत सचिव सापकोटासँग आगो भए ।

कारण थियो अनेकन शुभलाभ र अदृश्य चलखेल ।

सचिव सापकोटाले ती सबै विषय मन पराएनन् सायद । विधिमा काम गर्छु, जथाभावी गर्दिन भन्ने उनको अडान थियो । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई अनेकन धम्की दिएर मन्त्री बनेको भनेर चर्चामा आएका बस्नेतले निर्वाचन आचारसंहिताको समेत ख्याल नगरि सचिव सरुवाको प्रस्ताव मन्त्रिपरिषद्मा लगे र उनको सरुवा गराएरै छाडे ।

निर्वाचन आयोगले संघीय र प्रदेशसभा निर्वाचनमा लागि गत भदौ १५ देखि आचारसंहिता जारी गरेको छ । आयोगको स्वीकृतिबिना कुनै पनि कर्मचारीलाई सरुवा बढुवा गर्न पाइदैन । तर निर्वाचन आचारसंहिताको वर्खिलापमा गएर मन्त्री बस्नेतले सचिव सापकोटाको सरुवा गराएरै छाडे ।

हकारी तथा गरिबी निवारण मन्त्रालयबाट सामान्यमा आएका सचिव सापकोटा एक वर्षपनि टिक्न पाएनन् । सामान्यता दुई वर्ष कुनै पनि कर्मचारीको सरुवा गर्न नपाइने प्रावधान छ । तर एक वर्षपनि पूरा काम गर्न नपाएका सचिव सापकोटाको सरुवा गरिएको छ ।

कर्मचारीको सरुवा बढुवामा सचिव सापकोटाले सहयोग नगरेको गुनासो मन्त्री बस्नेतले गर्दै आएका थिए । सचिव सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने सामान्यमा प्रधानमन्त्री कार्यालयमा कार्यरत खगराज बराललाई ल्याइएको छ ।


क्लिकमान्डु