दशैंमा विदेश घुम्ने हो ? कुन देश घुम्न कति खर्च लाग्छ ? (सूचिसहित)



काठमाडौं । पछिल्ला वर्षहरुमा विदा मनाउन विदेश घुम्न जाने नेपालीहरुको संख्या ह्वातै बढेको छ । खासगरी उच्च र मध्यम वर्गका परिवारका सदस्यको विदेश घुमघामको उपयुक्त समय दशैं-तिहार नै हुने गरेको छ ।

किनभने यो पर्वका बेला सरकारले लामो विदा दिने भएकोले पनि घुम्न जानको लागि उपयुक्त अवसर मिलेको हो । खासगरी नेपालीहरु थाइल्यान्ड, मलेसिया, इन्डोनोसिया, सिंगापुरदेखि चीन, भारत, युरोप र अमेरिकासम्म घुम्न जाने गरेका छन ।

दशैंको समयमा विदेश घुमघाममा गर्ने र रमाइलो गर्ने नेपालीको संख्या बढ्दै गएको कारण विदेश जाने नेपाली पर्यटक (आउट बाउन्ड टुर) को व्यवसाय समेत बढ्दै गएको छ ।

नेपालीहरुलाई भारतबाहेक ३६ वटा देशले अनअराईभल भिसा उपलब्ध गराईरहेका छन । गत वर्ष थाइल्यान्ड घुम्ने नेपालीमात्र ४० हजार ६ सय ७८ पुगेका थिए ।

पछिल्लो समय नेपालीको खर्च गर्ने क्षमता बढदै गएको, घुम्ने संस्कृतिको विकास भएको र हनीमुन मनाउनेदेखि पारिवारिक रमाइलो गर्नेसम्मको उद्देश्यले विदेश यात्रा गर्ने नेपाली बढिरहेको व्यवसायी बताउँछन् ।

नेपालबाट हरेक वर्ष पर्यटक बनेर घुमघाम गर्नेको संख्या १० प्रतिशतले बढेको अनुमान गरिएको ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालका पूर्वअध्यक्ष यम बहादुर खड्का बताउँछन् ।

‘नेपालीहरु स्वदेशसँगै विदेश पनि घुम्ने परम्परा बढ्दै गएको छ,’ खड्काले क्लिकमाण्डूसँग भने । अहिले सबै जसो ट्राभल एन्ड टुर संचालकहरुकले आउट बाउन्ड टुरको प्याकजे दिइरहेको खड्का बताउँछन् ।

कुन देश घुम्न कति खर्च लाग्छ ?

देश बसाइ अवधि खर्च
थाइल्याण्ड ४ रात ५ दिन ६५ हजार
दबई ४ रात ५ दिन ७५ हजार
सिङ्गापुर र मलेसिया ५ रात ६ दिन १ लाख
थाइल्याण्ड, मलेसिया र सिङ्गापुर ९ रात १० दिन १ लाख ३० हजार
थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया र सिङ्गापुर ११ रात १२ दिन १ लाख ७० हजार
दुवाई र मोरिसस ८ रात ९ दिन ३ लाख
युरोपका चार देशहरु (छान्न सकिने) ७ रात ८ दिन ३ लाख ५० हजार
अष्ट्रेलिया ७ रात ८ दिन ३ लाख १० हजार
युरोपका ६ देश छान्न सकिने ९ रात १० दिन ४ लाख ५० हजार
जापान र कोरिया ९ रात १० दिन ४ लाख
सेन्ट्रल युरोप र लन्डन सहित ७ देश छान्न सकिने ८ रात ९ दिन ४ लाख ५० हजार

स्रोतः टुर एन्ड ट्राभल एजेन्सी

पछिल्लो सयम विदेश घुम्न जाने नेपालीमा व्यवसायी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी बढी रहेका छन् । नेपालबाट विदेश घुम्न जाने क्रम बढ्दै गएको पे्रसिडेन्ट ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक भोलाबिक्रम थापाले बताउँछन् ।

‘आम्दानी भएका नेपाली विदेश घुम्न जाने क्रम पछिल्ला केही वर्षदेखि बढ्दै गएको छ,’ थापाले भने, ‘भिसाको प्रक्रिया सहज भएपछि पनि विदेश घुम्न जानेहरुलाई सजिलो भएको छ ।’

नेपालीलाई विदेश घुम्न लैजान ट्राभल एजेन्सीहरुले पनि विभिन्न खालका आकर्षक प्याकेज ल्याउनेक्रम बढेको छ ।

ट्राभल एजेन्सीहरुले नेपालीहरु पहिला घुम्न जाने थाइल्याण्ड, सिंगापुरबाहेक अहिले युरोप तथा अमेरिकाको पनि घुम्ने योजना ग्राहकका लागि ल्याएका छन् ।

नेपालीहरु अहिले पनि थाइल्याण्ड, मलेसिया, तथा सिंगापुर घुम्न जाने बढी भएको थापाले बताए । प्रेसिडेन्टले थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की र ग्राहकको रुचिअनुसार अन्य मुलुकमा घुम्न पठाउने गरेको छ ।

नेपालबाट बाहिरिनेमा सबैभन्दा बढी थाइल्यान्डको बैंकक जाने गरेका छन् । त्यसपछि दुबै, मलेसिया, सिंगापुरलगायत मध्ययमर्गीय नेपालीका आकर्षण गन्तव्य हुन ।

व्यवसाय भएका र कर्पोरेट हाउसका कर्मचारी भने युरोप र अमेरिकासम्म नै घुम्न जाने संस्कृतिको विकास भएको छ ।

५०/६० हजार खर्च गर्न सक्ने मध्यम वर्गको रोजाइ थाइल्यान्ड हुने गरेको छ भने उच्च वर्गका परिवारको रोजाइ अमेरिका र युरोप हुने गरेको सोसाइटी अफ नेपालीको घुम्न जाने संस्कृति बढेकै कारण १०÷१२ लाख खर्च गरेर घुम्न जाने परम्पराको पनि विकास भइसकेको छ ।

इकोनोमी प्याकेज, सहज भिसा

पछिल्लोवर्षहरुमा विदेश घुम्न चाहने नेपालीको लागि सहज र सस्तो प्याकेजले गर्दा आर्कषण झनै बढेको छ । पहिलेपहिले पैसामात्र होइन प्रक्रिया पनि निकै झन्झटिलो हुने गरेको थियो । फलस्वरुप विदेश घुम्न जानु नेपालीहरुको लागि सपना जस्तै थियो ।

विशेषगरी पछिल्लो समय आएको प्रवेसाज्ञा अनुमतिमा आएको सहजताले यसमा सहयोगी भुमिका खेलेको छ । अहिले नेपालीहरुको विश्वका ३६ वटा देशमा पासपोर्टमात्र भएमा निश्चित दिनसम्म घुम्न पाउँछन् ।

नेपालीहरुलाई भारतबाहेक ३६ वटा देशले अनअराईभल भिसा उपलब्ध गराईरहेका छन । गत वर्ष थाइल्यान्ड घुम्ने नेपालीमात्र ४० हजार ६ सय ७८ पुगेका थिए ।

अनअराईभल भिसाको आवश्यक प्रक्रिया

हवाई टिकट, होटल बुकिङको पत्रसहित शुल्क तिरेपछि पासपोर्टकै भरमा तोकिएको विमानस्थलको अध्यागमन विभागबाट त्यस्तो अनअराईभल भिसा दिइन्छ । त्यो देशअनुसार निश्चित दिनको लागि हुन्छ ।

सामन्यतया १५ दिनदेखि ३ महिनासम्मको अवधकिो लागि दिइने त्यस्तो भिसा नेपालसंग कुनै सरोकार नभएका मुलुकहरुले पनि दिने गरेका छन् भने दक्षिण एसियाली छिमेकीहरुले पनि दिएका छैनन् ।

यसमा भुटान र अफगानिस्तानले नेपालीलाई त्यस्तो सुविधा दिएका छैनन भने चीनले पनि त्यस्तो सहुलियत नेपालीलाई दिएको छैन ।

संसारमा सबैभन्दा बढी अनअराइभल परमिट सुविधा भने जर्मन पासपोर्ट होल्डरहरुले पाउँछन् जसले १ सय ७७ वटा देशमा त्यस्तो सुविधा पाउँछन भने सबैभन्दा कम अफगानस्तानी पासपोर्ट होल्डरहरुले २५ देशमा पाउँछन् ।

तर यस्तो सुविधा कहिले दिने कहिले हटाउने क्रम चलिरहने र त्यस्तो जानकारी नेपाल सरकारलाई दिनुनपर्ने भएकोले पनि यसको एकमुष्ट जानकारी नहुने सरकारी अधिकारीहरु बताउँछन् ।


पुष्प दुलाल