बेरोजगारलाई अब सरकारले नै जागिर खोजिदिने



काठमाडौं । कुनै जमाना थियो । पढाई सकेपछि जागिर खोज्दै जुक्ता फाटुञ्जेल अफिस÷अफिस धाउनुपर्थ्यो । यसरी धाएर पनि जागिर पाए त हुन्थ्यो नि ।

जागिर पाउन नेता तथा ठूल्ठूला हाकिमको सोर्सफोर्स चाहिन्थ्यो । सोर्सफोर्स नहुनेले त जागिर पाउन निकै कठिन थियो ।

त्यसपछि जमाना केही बदलियो । कार्यालयको इमेल ठेगानामा इमेल पठाएरै पनि जागिरका लागि आवेदन दिन पाउने वातावरण बन्यो । तर, पसोर्सफोर्स नभएकालाई कम्पनीले एकपटक पनि बोलाउँदैन थियो ।

नेपालमा जागिर पाउन अत्यन्तै कठिन भएपछि धेरै युवाहरु रोजगकारीका लागि विदेश पलायन भइरहेका छन् । दैनिक १५ सय युवाहरु रोजगारीका लागि विदेशिने गरेको बैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

तर, अहिले परिस्थिति बदलिएको छ । बेरोजगारहरुलाई रोजगार खोजिदिन सरकार नै अग्रसर भएको छ । सरकारले बेरोजगारलाई उद्योग प्रतिष्ठानहरुमा जाखिर खोजिदिने भएको हो ।

बेरोजगारलाई जागिर र उद्योगलाई कामदार उपलब्ध गराउने उद्देश्यले सरकारले jobkhoj.gov.np अनलाइन प्लेटर्फम संचालनमा ल्याएको छ ।

उक्त अनलाइनमा उद्योगहरुलाई आवश्यक कामदारको संख्या,कामको बिबरण, सेवा सुविधा र सर्तहरु राखिएको हुन्छ । त्यस्तै, कामदारको पनि शैक्षिक योग्यता, अनुभव र कस्तो प्रकृतिको काम चाहिएको हो, त्यसको विवरण राखिएको हुन्छ ।

‘क्षमतावन युवाहरुले रोजगारी पाउन भन्ने उद्देश्यले अनलाइन सुरु गरिएको श्रम विभागका निर्देशक हरि शर्माले बताए ।

‘अनलाइनलाई जागिर खोज्न आउने र जागिर दिने दुबैले साझा चौतारीको रुपमा प्रयोग गर्न सक्छन्,’ शर्माले क्लिकमाण्डूसँग भने ।

त्यसका लागि विभागले १४ अञ्चलमा एक-एक रोजगार सूचना केन्द्र स्थापना गरेको छ ।

सूचना केन्द्रमार्फत विभागले हालसम्म ८ सय ३० जनालाई रोजगारी दिलाएको छ । जसमध्ये ७ सय ४० लाई आर्थिक बर्ष २०७३÷७४ जागिर दिएको र बाँकी ९० जनालाई अघिल्लो आर्थिक बर्षमा जागिर लगाइदिएको विभागले जनाएको छ ।

गत आर्थिक बर्ष विभिन्न मेलाहरुमा उद्योग प्रतिष्ठानको सहकार्यमा रोजगारी स्टल राखिएकाले जागिर पाउने केही मात्रमा बढेको निर्देशक शर्माले बताए ।

सूचना केन्द्रले अपेक्षा गरिए अनुरुप रोजगारी दिलाउन सकेको छैन्, अनलाइन सेवाको सुरुवातसँगै जागिर पाउनेको संख्या वृद्धि हुनेछ,’ उनले भने ।


पुष्प दुलाल