राजस्व अनुगमनका लागि १८ टोली बजारमा खटियो



काठमाडौं । आन्तरिक राजस्व विभागले बजारमा राजस्व अनुगमनका लागि आफ्ना कर्मचारीहरु खटाएको छ । बढि कारोबार हुने दशैं तिहार जस्ता चाड नजिकिएको समय पारेर विभागले राजस्व असुली प्रभावकारी बनाउन टोली खटाएको हो ।

विभागले करसम्बन्धि जानकारी दिने र व्यवसायीलाई सहयोग गर्ने उद्देश्यका साथ कर्मचारीहरु बजार अनुगमनमा खटाएको जानकारी दिएको छ ।

विभागका उप महानिर्देशक यज्ञप्रसाद ढुङ्गेलले मंगलवारदेखि नै बजारमा करसम्बन्धि जानकारी अभिवृद्धि गर्नका लागि अनुगमनमा कर्मचारी परिचालन गरेको बताए ।

‘हामीले आजैदेखि राजस्व असुली प्रभावकारी बनाउन मातहत कार्यालयमार्फत कर्मचारी खटाएका छौं,’ ढुङ्गेलले भने ।

यस्तो अनुगमनले बजारमा कर छलीको घटनाहरु कम हुने र सामान खरिदकर्ताहरुलाई पनि बिल लिने बानी बसाल्न सकिने उनको ठहर छ ।

विभागकाअनुसार १८ वटा राजस्व कार्यालयबाट तीन जनाको दरले ५४ जना कर्मचारी नियमित बजार अनुगमनका लागि परिचालन गरिएको छ । खटिएका कर्मचारीहरुले व्यवसायीहरुलाई राजस्वको बारेमा जानकारी दिनुका साथै खरिदकर्ताहरुलाई पनि सचेत बनाउनेछ ।

यसअघि पनि विभागले बेला बेलामा बजार अनुगमन गर्न कर्मचारीहरु खटाउँदै आएको थियो ।

विभागले कर जागरण अभियानलाई निरन्तरता दिने उदेश्यले बजार अनुमगनमा कर्मचारी खटाएको र यो नियमित प्रकृया भएको स्पष्ट पारेको छ ।

विभागले केहि दिन अघि सार्वजनिक गरेको २१ बुँदे वार्षिक कार्ययोजनामा पनि बजार अनुगमन कार्यलाई सघन रुपमा अगाडि बढाउने उल्लेख छ ।


क्लिकमान्डु