तातो हावाबाट ४ मेगावाट बिजुली निकाल्दै अर्घाखाँची सिमेन्ट



काठमाडौं । अर्घाखाँची सिमेन्टले उद्योगबाट निस्किने तातो हावा (वेस्ट हिट) बाट बिजुली निकाल्ने भएको छ ।

पहिलो चरणमा २.५ मेगावाट र दोस्रो चरणमा १.५ मेगावाट गरी जम्मा ४ मेगावाट बिजुली निकाल्ने प्रक्रिया सुरु गरिएको उद्योगका सञ्चालक पशुपति मुरारकाले बताए ।

४ मेगावाट बिजुली निकाल्न ८० करोड रुपैयाँको हाराहारीमा खर्च लाग्ने उनले सुनाए ।

‘बिजुली निकाल्ने प्रक्रिया सुरु गरेको ६ महिना भयो, चीनबाट सामान झिकाएको छु, आगामी ७/८ महिनाभित्र बिजुली उत्पादन भइसक्छ,’ मुरारकाले क्लिकमाण्डूसँग भने ।

यसरी बिजुली निकाल्दा उद्योगबाट निस्कने तातो हावा चिसिने र त्यसले वातावरणलाई असर नगर्ने उनको भनाई थियो ।

‘अहिले उद्योगबाट निस्केको तातो हावा खेर गइरहेको छ, वातावरण जनि जोगिने र बिजुली पनि निस्कने भएपछि मैले स्टिम प्रविधिको प्रयोग गरी बिजुली निकाल्ने निधो गरेको हुँ,’ उनले भने ।

खासगरी अहिले यस्तो प्रविधिको प्रयोग गरेर चीनमा ठूलो मात्रामा बिजुली निकालिएको छ । उद्योगबाट निस्किएको तातो हावाले स्टिम इन्जिलाई घुमाने र त्यसरी घुमेको स्टिम इन्ञिनले बिजुली उत्पादन गर्छ ।

मुरारका अनुसार नेपालमा अहिलेसम्म कसैले पनि यो प्रविधिको प्रयोग गरेर बिजुली निकालेका छैनन् ।

उद्योगले अहिले १० मेगावाट बिजुली खपत गर्दै आएको छ र क्षमता विस्तारसँगै बाँकी १० मेगावाट बिजुली थप्ने अन्तिम तयारी भइरहेको छ ।

‘अब मैले विद्युत प्राधिकरणसँग जम्मा १६ मेगावाट मात्रै बिजुली किन्छु,’ मुरारकाले भने ।


पुष्प दुलाल