टेलिकमको मोबाइल सेवा सिन्धुपाल्चोक हुँदै चीनसम्म



काठमाडौं। नेपाल टेलिकमले सिन्धुपाल्चोक जिल्लाको अति दुर्गम चेपेडाँडास्थित जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराएको छ । यसबाट सो क्षेत्रका विकट स्थानमा पनि जिएसएम मोबाइल सेवाको पहुँच पुगेको छ ।

यस अघि ती स्थानमा सिडिएमए प्रविधिका मोबाइल मात्र सञ्चालनमा थिए ।

चेपेडाँडाको बिटिएस साइट सञ्चालन पश्चात सिन्धुपाल्चोक जिल्लाका साविकका सेलाङ, गोल्चे, पाङताङ, गुम्बा, बराम्ची, जलबीरे र हगाम गाविसमा जिएसएम मोबाइल सेवाको पहुँच विस्तार भएको टेलिकमले जानकारी दिएको छ ।

सो क्षेत्रमा पहिलेदेखि नै करिब ४ हजार ग्राहकहरुले सिडिएमए प्रविधिको फोन सेवा उपभोग गरिरहेकोमा अब जिएसएम मोबाइलको पहुँच विस्तार पश्चात् थप सेवाग्राहीहरु पनि लाभान्वित हुने भएका छन् । अब सो क्षेत्रका वासिन्दाले जिएसएम मोबाइलबाट डाटा सेवा चलाउन र फोन गर्न समेत सक्ने छन् ।

गोल्चे र गुम्बा गाविस चीनको सीमानासम्म जोडिएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।


क्लिकमान्डु