खजुरीको बिस्कुटले भोक नमेटिएपछि एएसी ब्लकमा जम्दै जगदीश्वर



एक जमाना थियो, खजुरीको बिस्कुट भन्ने वित्तिकै सबैको मनमनमा थियो । खाजाको पर्याय बनेको थियो । आज खजुरी ब्राण्ड स्थापित भइसकेको छ ।

तर, पारिवारिक व्यवसायमा खजुरीको बिस्कुट संचालन गरिरहेका जगदीश्वर महर्जन १० वर्षदेखि व्यवसायको दायरा फराकिलो बनाउन खोजिरहेका थिए । लगानी विबिधिकरण गर्ने उनको सोच थियो । खजुरीको बिस्कुट उत्पादनमै सिमित रहेर उनको ब्यवसायिक भोट मेटिएको थिएन भन्दा पनि हुन्छ ।

कुन क्षेत्रमा लाग्ने त्यसको टुंगो भने लागेको थिएन । बिस्कुट क्षेत्रमा लोकिप्रिय खजुरीको बिस्कुट महर्जनको पारिवारिक व्यवसाय थियो । व्यवसाय विस्तारको लागि नयाँ क्षेत्र खोज्ने क्रममा उनीसँग भेटिए तत्कालिन भिवोर विकास बैंकका सिइओ अजय घिमिरे ।

भिवोरले त्यो बेला काठमाडौंमा हाइराइज अपार्टमेन्ट सहित एग्रेसिभ रुपमा हाउजिङमा हात हाल्ने तयारी गरिरहेको थियो । हाइराइज अपार्टमेन्टको लागि परम्परागत इँटाको बिकल्प खोज्ने तयारी भिवोरले गरेको थियो ।

भिवोरले निर्माण गर्न लागेको अपार्टमेन्टमा चीनमा निर्माण भएको एएसी ब्लक प्रयोग गर्ने तयारी थियो । आफ्नो व्यवसायको लागि चीनबाट सामान आयात गर्ने महर्जनले चीनबाट एएसी ब्लक आयात गर्दा महंगो हुने देखे ।

‘चीनमा गएर एएसी ब्लकको कारखाना अवलोकन गरेपछि यो नेपालमा नै उत्पादन गर्न सकिने जस्तो लाग्यो,’ करिब ७ वर्ष अगाडिको अनुभव सुनाउदै महर्जनले क्लिकमाण्डूसँग भने, ‘इँटाको बिकल्पको रुपमा नेपालमा एएसी ब्लकको उद्योग खोल्ने सोचमा हामी पुग्यौं ।’

बिस्कुट उद्योग चलाइरहेका महर्जन र भिवोर ग्रुपबीच ६० र ४० प्रतिशत सेयर स्वामित्व रहने गरेर नेपालमा एएसी ब्लक उत्पादनको लागि इको नेपाल ब्रिक प्रालि कम्पनी पनि दर्ता भयो ।

घरजग्गा व्यवसायमा आएको मन्दीले भिवोर ग्रुप समस्यामा पर्यो । भिवोर विकास बैंकको पनि अहिले अस्तित्व छैन । भिवोर समस्यामा परेपछि उसले लगानी गर्न सकेन ।
‘भिवोरले लगानी गर्न नसकेपछि तत्कालको लागि योजना स्थगित भयो,’ महर्जनले भने, ‘७ वर्ष अगाडिको सुरु गरेको योजना अहिले आएर पुरा भयो ।’

महर्जनको योजनामा साथ दिनको लागि भ्याली कोल्ड स्टोरका बाबुराजा रावल सहित इन्जिनियर सुभाष अधिकारी आइपुगे ।

कुखुराको व्यवसायमा बाबुराजा र आर्किटेक इन्जिनियरिङको क्षेत्रमा सुभाष काम गर्दै थिए ।

‘युरोपमा बसेको अनुभवको आधारमा एएसी ब्लकको माग नेपालमा हुने अनुमान थियो,’ अधिकारीले भने, ‘प्राविधिक रुपमा सम्भव देखिएपछि हामी यसमा जोडियौ ।’

भूकम्प जानुभन्दा अगाडि नै एएसी ब्लक खोल्ने निर्णय भयो । त्यसपछि जन्मियो एरोब्रिक्स प्रालि । ५० करोडको लगानीमा चितवनको चैनपुरमा एरोब्रिक्सको कारखाना छ ।
कम्पनी खोल्ने निर्णय भूकम्प अगाडि भएपनि भूकम्प र त्यसपछि भएको भारतीय नाकाबन्दीले कारखानाबाट ब्लक उत्पादन हुन सकेन ।

धेरैले भूकम्पपछि एएसी ब्लकको उद्योग खोलेको बताए पनि हाम्रो प्रोजेक्ट भूकम्पले दुईवर्ष पछाडी धकेलेको एरोब्रिक्सका कार्यकारी अध्यक्ष महर्जन बताउँछन् ।
‘परम्परागत इँटाको बिकल्प नेपालमा थिएन,’ उनले थपे, ‘अहिले आएर यसको बिकल्प पुरा भएको छ ।’

बन्ला इँटाको बिकल्प

घर निर्माणको लागि प्रयोग गर्ने भनेको परम्परागत रातो इँटा हो । यसको तौलपनि बढी छ । र, यो उत्पादन हुन बढी प्रदुषण हुने गर्छ ।

एरोब्रिक्स प्रालिले एएसी ब्लक बजारमा ल्याउने दिन होटल अन्नपूर्णमा ठूलो नै कार्यक्रम गरेको थियो । कार्यक्रममा उद्योगी र व्यवसायीको पनि राम्रो नै जमघट थियो । नेपालमा पहिलो पटक एएसी ब्लक उत्पादन भने उदयमान व्यवसायीको समुहले गरेको थियो ।

कम्पनीका कार्यकारी निर्देशक सुभाष अधिकारीलाई कार्यक्रममा चर्चित व्यवसायीक घरानाको एक सदस्यले लगानीको प्रस्ताव गरे । व्यवसायिक घरानाको प्रस्ताव हेर्दा नेपालमा एएसी ब्लकको सम्भावना रहेको देखाउँछ ।

एरोब्रिक्स प्रालिपछि नेपालमा एएसी ब्लकका ६ वटा कम्पनीले आफ्नो उत्पादन बजारमा ल्याउदैछन् ।

‘६ वटा कम्पनीले बजारमा आफ्नो उत्पादन ल्याउन लागेका छन्,’ एरोब्रिक्सका कार्यकारी अध्यक्ष महर्जनले भने, ‘आउन लागेका कम्पनीले गुणस्तरीय उत्पादन दिएमा नेपालमा इँटाको बिकल्प तयार हुन्छ ।’

जीन्दगीभरको कमाई घर निर्माणको लागि खर्च हुने गर्छ । त्यो हुँदा घर निर्माण गर्दा गुणस्तरमा बढी नै ध्यान दिनुपर्ने हुन्छ ।

परम्परागत रुपमा इँटाको प्रयोग गर्दै घर निर्माणको विषय सिक्दै आएको समाजमा नौलो मानिएको एएसी ब्लकको प्रयोग बढाउने चुनौती भने कम्पनीलाई रहेको छ ।

‘औपचारिक रुपमा उत्पादन सुरु भएको ३ महिनाको अवधीमा निकै उत्साहजनक रुपमा ब्लकको माग आएको छ,’ एरोब्रिक्सका कार्यकारी अध्यक्ष महर्जनले भने, ‘चितवनमा कारखाना रहेको र नारायणगढ मुग्लिङ सडकखण्डको अवरोधले ढुवानीमा समस्या आएको छ ।’

चितवनमा रहेको एएसी ब्लकको कारखानाले दैनिक रुपमा ५० हजार क्युविक मिटर (रातो इँटा ३ लाख बराबर) को उत्पादन क्षमता रहेको छ ।

पछिल्लो समय काठमाडौंका होटल तथा रेष्टुरेन्टमा यसको माग एएसी ब्लकको माग बढी भएको कार्यकारी अध्यक्ष महर्जन बताउँछन् ।

‘रातो इँटाभन्दा हलुका रहेको हुँदा विदेशमा बसेर आउनेहरुलाई यसको बारेमा धेरै जानकारी छ,’ उनले भने, ‘यसको कारण तराईमा यसको माग बढी हुनेमा विश्वास छ ।’
तराईमा रातो इँटाभन्दा एएसी ब्लकले घरभित्र शितलता प्रदान गर्ने कम्पनीको दाबी छ ।

‘स्वयम्बु क्षेत्रमा एएसी ब्लक प्रयोग गरेर घर निर्माण गर्दा ग्राहकले पाएको अनुभव हो,’ महर्जनले थपे, ‘यसले तराईमा क्षेत्रमा अटोमेटिक रुपमा एएसी ब्लकले एसीको काम गर्छ ।’
परम्परागत इँटा प्रयोग गरेर घर बनाउनुभन्दा एएसी ब्लक प्रयोग गर्दा १० देखि २० प्रतिशतभन्दा बढी सस्तो ग्रिंनरी वातावरण बनाउन यसले मद्दत गर्ने गर्छ ।

‘भारतमा एएसी ब्लकले वातावरण संरक्षण गर्ने उद्योगको मान्यता पाएको छ,’ महर्जनले भने, ‘परम्परागत रातो इँटाले कृषि योग्य जमिनको नोक्सानी भएको छ वातावरण पनि प्रदुषित बनाएको छ ।’

घर निर्माणपछि प्लास्टर गर्दा लाग्ने करिब ८० प्रतिशत खर्च एएसी ब्लकको प्रयोगले घटाउने महर्जन बताउँछन् ।

एएसी ब्लकमा बालुवा, सिमेन्ट,चुना (लाइम) र आल्मुनियमको प्रयोग हुन्छ । यसरी हेर्दा स्वदेशमा पाइने ९० प्रतिशत सामाग्री प्रयोग गरेर एएसी ब्लकको निर्माण हुन्छ ।

के हो एएसी ब्लक

युरोपमा सन् १९२० मा अटोक्लेभ्ड एरिरेट कंक्रिट (एएसी) ब्लकको सुरुवात भएको हो । यसको उत्पादन सुरुवात गर्ने श्रेय स्वीडेनका डा. जोहन एक्सेल इरिक्सनलाई जान्छ ।
युरोपमा एएसी ब्लक लोकप्रिय छ । परम्परागत इँट महंगो हुने हुँदा त्यहाँ प्रयोग हुँदैन ।

अहिले नेपाली बजारमा परम्परागत इँटाको मुल्य प्रतिइँटा १६ रुपैयाँ पर्छ । चार इन्च मोटाइ भएको एएसी ब्लक सामान्यता ९ वटा इँटा बराबर हुन्छ ।

इँटाको मुल्यमा यो १० प्रतिशत सस्तो पर्ने दाबी छ । एएसी ब्लक परम्परागत इँटाभन्दा ठूलो हुने हुँदा निर्माणको लागत पनि सस्तो पर्छ ।

समग्रमा साढे २ तला घर निर्माण गर्दा एएसी ब्लक प्रयोग गर्दा ३५ प्रतिशतसम्म बचत हुने दाबी कार्यकारी अध्यक्ष महर्जनको छ ।


क्लिकमान्डु