सिमेन्टमा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी, होङसीले ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने



काठमाडौं । लगानी बोर्ड र होङसी शिवम् सिमेन्ट प्रालिबीच ३६ अर्ब ७५ करोड रुपैयाँ लगानीमा नेपालमा सिमेन्ट उद्योग स्थापनाका लागि परियोजना लगानी सम्झौता भएको छ ।

आइतवार आयोजित सम्झौता कार्यक्रममा लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महा प्रसाद अधिकारी र कम्पनीका तर्फबाट कम्पनीका निर्देशक तथा महाप्रबन्धक लाई वेईपेङ्ले सम्झौतामा हस्ताक्षर गरे ।

परियोजना लगानी सम्झौता दुबैपक्षबीचको करार भएको र यसअन्तरगत, सरकारले लगानीको सुरक्षा प्रत्याभुती दिनेछ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीले सम्झौताको माध्यमबाट सरकारले वैदेशिक लगानी भित्र्याउने सरकारको प्रयासलाई स्पष्ट पारेको भन्दै निजी लगानीकर्ताहरुको लागि पनि थप लगानी गर्न सकिने सकारात्मक संकेत भएको बताए ।

नेपालमा लगानीको वातावरण बनाउन र आर्थिक वृद्धि गर्न सरकारले विभिन्न नीति नियम तथा प्रकृयाहरुलाई सरलिकृत बनाउँदै लगानीको वातावरण बनाउने उनले स्पष्ट पारे ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले सम्झौता ऐतिहासिक अवसर भएको भन्दै बोर्ड अन्तरगत परियोजना लगानी सम्झौता भएको पहिलो र ठूलो लगानी भएको जानकारी दिए । उनले नेपालमा ढुक्क भएर विदेशीहरुले लगानी गर्न सक्ने बताए ।

कार्यक्रममा कम्पनीका निर्देशक तथा महाप्रबन्धक लाई वेईपेङ्ले विदेशी लगानीको लागि नेपाल विश्वसनिय तथा संभावित लगानीको स्थान भएको बताए ।

शिवम् होल्डिङस् प्रालिका प्रतिनिधि तथा शेयर होल्डर सतिश कुमार मोरले नेपालमा उद्योग संचालन गर्नु निकै कठिन भएको भन्दै औद्योगिक क्षेत्रमा देखिने समस्याहरु समाधान गर्न सरकारसँग मिलेर काम गर्ने बताए ।

चिनियाँ कम्पनी होङ्सी सिमेन्ट ग्रुपले कुल लगानीको ७० प्रतिशत तथा नेपाली लगानीकर्ताको तर्फबाट शिवम् होल्डिङस् प्रालिले ३० प्रतिशत लगानी गर्नेछ । नवलपरासीमा सिमेन्ट कारखाना स्थापना गरि पाल्पाको ज्यामिरेमा रहेको चुनढुङ्गा खानीबाट कच्चा पदार्थ ल्याउनेछ ।

सन् २०१८ भित्र कम्पनीले पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ भने पछि उत्पादन वृद्धि गरी दैनिक १२,००० टन पुर्याउने लक्ष्य राखेको छ । कम्पनीले करिब १ हजार रोजगार सिर्जना गराउने जानकारी दिइयो ।

आइतवार भएको परियोजना लगानी सम्झौता १५ वर्षसम्मको लागि लागू हुने र थप हुनसक्ने बोर्डले जानकारी दिएको छ ।


क्लिकमान्डु