बेनी जोमसोमबीचमा डेढ करोडको लगानीमा बन्दैछ यस्तो यस्तो रिसोर्ट




म्याग्दी। म्याग्दी रघुगंगा गाउँपालिका–३ स्थित घुमाउने तालमा एक युवाले जिल्लामै पहिलो स्विमिङपुलसहितको रिसोर्ट सञ्चालन गर्ने तयारी गरेका छन् ।

वडा नं– ३ पिप्ले घर भएका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् ।

करिब ३० रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर चन्दले रिसोर्ट सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कार्यलाई तीव्र पारिएको छ । सञ्चालनमा आएपछि यो जिल्लाकै पहिलो स्विमिङ पुलसहितको रिसोर्ट हुनेछ ।

अहिले पाहुना बस्ने कोठा, गार्डेन, पार्किङ, स्विमिङ पुललगायत पूर्वाधार निर्माणको कार्य भइरहेकोे सञ्चालक चन्दले बताए । उनका अनुसार, अहिलेसम्म रिसोर्ट निर्माणका लागि ८० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने पूर्वाधार निर्माणले पूर्णता पाउँदासम्म साढे एक करोड रुपैयाँ लगानी पुग्नेछ ।

‘‘मैले यहाँ सञ्चालनमा रहेको रेस्टुरेन्ट खरिद गरी त्यसमा थप सेवा सुविधा उपलब्ध गराउनका लागि पूर्वाधार निर्माण गर्न लागेको हुँ, जिल्लामा उत्कृष्ट सेवा सुविधासहितको रिसोर्ट सञ्चालन गर्ने अवधारणअनुसार काम अगाडि बढाएको छु, अब छिट्टै यसलाई सञ्चालनमा ल्याउने तयारी गरेको छु,’’–उनले भने ।

पाहुनलाई स्थानीय उत्पादनको स्वाद चखाउने लक्ष्यका साथ कुखुरा, हाँस र माछापालन व्यवसायलाईसमेत सँगसँगै अगाडि बढाएको चन्दले बताए ।

‘अर्गानिक र हाईजनिक’ परिकारको केन्द्र बनाउने मुख्य लक्ष्यसहित रिसोर्ट सञ्चालन गर्न लागेका चन्दले ग्राहकलाई हाँस, माछा, कुखुरा, खसी, बँदेललगायतसँगै स्थानीय उत्पादनको स्वाद चखाउने बताए । शुरु शुरुमा हरेक महिना एक दिन दोहोरी साँझसमेत राख्ने उनले जानकारी दिए ।

बेनी–जोमसोम आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस रिसोर्टमा जिल्लामै पहिलो पटक स्विमिङ पुलको आनन्दसमेत लिनसक्ने व्यवस्था गरिनेछ ।

पाहुनलाई स्थानीय उत्पादनको स्वाद चखाउने लक्ष्यका साथ कुखुरा, हाँस र माछापालन व्यवसायलाईसमेत सँगसँगै अगाडि बढाएको चन्दले बताए ।

माछापालनका लागि तीनवटा पोखरी निर्माण गरिएका छन् । अहिले १२ हजार भुराबाट माछापालन व्यवसाय शुरु गरेका छौं, उनले भने – कमनकार्प, ग्रासकार्प र सिल्भर कार्प जातका माछापालन शुरु गरेका छौं । यसका लागि थप ४० हजार माछाको भुरा मगाएको पनि उनले जानकारी दिए ।

यसका साथै चन्दले अहिले दुईसय कुखुरा पालेका छन् भने ३०० हाँस पाल्ने योजनासहित आकर्षक खोरसमेत निर्माण गरेका छन् ।

चार वर्षसम्म कोरियामा बसेर फर्किएपछि आफ्नै ठाउँमा केही गरौं भन्ने अठोटका साथ रिसोर्ट सञ्चालन गर्न लागेका उनले कोरियामा हाँसको आकर्षक परिकार बनाउन सिकेको सीपलाई आफ्नो रिसोर्टमा पनि उपयोग गर्ने योजना रहेको बताए ।

‘‘४० देखि ५० जनासम्म न्यूनतम रुपमा बास बस्नसक्ने गरी रिसोर्टको क्षमता विस्तार गर्दैछु, मिटिङ हल र पार्टी प्यालेससहितका सुविधा यहीबाटै प्रदान गर्ने गरी पूर्वाधार निर्माण भइरहेको छ’’– चन्दले भने ।

जीवनको महत्वपूर्ण समय वैदेशिक रोजगारीमा बिताएका चन्दले विदेशबाट आर्जन गरेको स्रोत, साधन र सीपलाई आफ्नै ठाउँमा रोजगारमूलक क्षेत्रमा लगानी गर्ने योजनाअुनसार रिसोर्ट सञ्चालन गर्न लागेको बताए ।

वैदेशिक रोजगारीको सिलसिलामा कतार, मलेसिया, कोरियालगायतका मुलुकमा युवा अवस्थाको ऊर्जाशील समय खर्चिएका चन्दले आफ्नो रिसोर्टमा १० जनाभन्दा बढीले रोजगारी पाउने जानकारी दिए ।

अब दुई हप्ताभित्रै रिसोर्ट सञ्चालनमा ल्याउने तयारी गरिएको पनि उने बताए । रासस


क्लिकमान्डु