टेलिकमद्वारा पूर्वाञ्चलका २ जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संचालन




काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित पूर्वाञ्चलका २ जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी औषधि र सेवा उपलब्ध गराएको छ । टेलिकमले महोत्तरीको लोहारपट्टीमा गत भाद्र १२ गते र सप्तरीको भेडियामठमा भाद्र १४ गते शिविर सञ्चालन गरेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गत भाद्र १२ गते महोत्तरीको लोहारपट्टीमासेवाग्राहीलाई औषधि वितरण गरेर निःशुल्क स्वास्थ्य शिविर संचालनको गरेको जानकारी दिइन् । निर्देशक राजभण्डारीले बाढी प्रभावित नागरिकहरुलाई केही राहत पुगोस् भन्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रमा नै आएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताइन । उनले विगतमा पनि कम्पनीले भूकम्प, बाढी लगायत प्राकृतिक प्रकोपका कारण प्रभावित भएका नागरिकहरुको हितका लागि यथासक्य सहयोग गर्दै आएको र भविष्यमा पनि यस किसिमको सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन् ।

स्वास्थ्य शिविरमार्फत महोत्तरीको लोहारपट्टीमा ७ सय ३२ र सप्तरीको भेडियामठमा ४ सय २३ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा औषधि प्रधान गरिएको टेलिकमले जनाएको छ । शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मी गरी १३ जनाको टोलीले सेवा उपलब्ध गराएका थिए ।

यसका साथै सञ्चार सुविधामा सहज होस भन्ने उद्देश्यले कम्पनीले जीएसएम प्रिपेड मोवाइलको सिमकार्ड निःशुल्क वितरण गरेको छ । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लाहरुमा गत भाद्र १२ गतेदेखि जीएसएम प्रिपेड सिम निःशुल्क वितरण गरिरहेको छ । यसमा ५० रुपैयाँको टक भ्यालु छ भने सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा समेत रहेका टेलिकमले जनाएको छ ।

टेलिकमले कम्पनीले बाढी प्रभावित झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा यो सुविधा उपलब्ध गराइरहेको छ ।

यसैगरी हराएको वा बिग्रेको प्रिपेडरपोष्टपेड सिमकार्डको सट्टामा अर्को सिमकार्ड पनि निःशुल्क उपलब्ध गराइने छ । यो सुविधा आगामी भाद्र २६ गतेसम्म उपलब्ध टेलिकमका प्रवक्त प्रतिभा बैद्यले जानकारी दिईन् ।


क्लिकमान्डु