दशै आयोः सस्तोमा खाद्यान्न किन्न यहाँ जानुस्




काठमाडौं । नेपाल खाद्य संस्थानले शुक्रबार (आज) देखि खाद्य सामाग्रीमा ५ रुपैयाँ छुट दिने भएको छ । संस्थानले दशै, तिहार तथा छठका लागि काठमाडौंका ५ स्थानमा खोल्न लागेको सहुलियत पसलमा विक्री गरिने हरेक खाद्यमा प्रतिकेजी ५ रुपैयाँ छुट दिने भएको हो ।

संस्थानले जाउलाखेल, बल्खु, सिंहदरवार, सूर्यविनायक र जोरपाटी गरी ५ स्थानमा सहुलियत पसल खोलेको छ । संस्थानका विक्रेता नरबहादुर बस्नेतका अनुसार सहुलियत पसलको उद्घाटन आज सिंहदरवार स्थित नेपाल ट्रेडमा हुने छ । छुटको व्यवस्था आउँदो छठसम्म लागू हुनेछ ।

चाडपर्वको बेला उपभोक्ताले खाद्य सामाग्रीहरु केही सुपथ मूल्यमा पाउन भन्ने उद्देश्यकासाथ खाद्य संस्थानले यस्तो ब्यवस्था लागू गर्न लागेको हो ।

संस्थानले घुम्ती सेवाबाट पनि सस्तोमा दैनिक उपभोग्य बस्तुहरु विक्री गर्ने योजना बनाएको छ ।

हाल संस्थानले सर्वसाधारणलाई विक्री वितरण गर्दै आएको खाद्यान्यको विक्री मूल्य अनुसार अरुवा मोटा चामल ३० केजीको १ हजार २ सय २१ रुपैयाँ, अरुवा मकवानपुर चामल भने १० केजीको ४ सय १० रुपैयाँ रहेको छ । अरुवा मकवानपुर चामल ३० केजीको १ हजार २ सय ३० रुपैयाँमा खाद्य संस्थानले विक्री गर्दै आएको छ ।

यस्तै अरुवा मध्यम चामल ३० केजीको १ हजार २ सय ९० रुपैयाँमा विक्री हुँदै आएको छ भने अरुवा सोना मन्सुली चामल २५ केजीको १ हजार १ सय २५ रुपैयाँमा विक्री भइरहेको छ । यो चामल ३० केजीको १ हजार ३ सय ५० रुपैयामा विक्री हुने गर्छ । अरुवा गोरखनाथ चामल २५ केजीको १ हजार २ सय ५० रुपैयाँमा विक्री हुने गर्छ भने अरुवा जिरा मसिनो चामल २० के.जीको १ हजार २ सय रुपैयाँमा विक्री हुदैछ ।

संस्थानका अनुसार अरुवा बासमती चामल १५ केजीको १ हजार ४ सय २५ रुपैयाँ पर्छ भने २० केजीको १ हजार ९ सय रुपैयाँमा विक्री हुँदै आएको छ । अरुवा मसिनो चामल २० केजीको २ हजार २ सय ५० रुपैयाँ पर्छ भने १ सय केजीको ४ हजार ५ सय रुपैयाँमा विक्री हुँदै आएको छ ।

यस्तै उसिना मोटा चामल ५ केजीको १ सय ७५ रुपैयाँमा विक्री हुने गरेको छ भने ५० केजीको १ हजार ७ सय ५० रुपैयाँमा विक्री हुँदै आएको छ ।

वंगलादेबी उसिना चामल ३० केजी १ हजार ५० रुपैयाँ पर्ने गरेको छ भने ५० केजीको १ हजार ७ सय ५० रुपैयाँमा विक्री गर्दै आएको संस्थानले जनाएको छ । उसिना सोना मन्सुली चामल ३० केजीको १ हजार १ सय १० रुपैयाँमा विक्री हुने गरेको छ । ब्राउन बासमती चामल ५ केजीको ४ सय ७५ रुपैया छ भने ३० केजीको २ हजार ८ सय ५० रुपैयाँमा विक्री हुँदै आएको छ ।

यसैगरी कर्णाली सिमि २ केजीको ३ सय रुपैयाँ, तिते फापर ५ केजीको ४ सय ५० रुपैयाँमा विक्री हुँदै आएको छ भने ३० केजीको २ हजार ७ सय रुपैयाँमा विक्री हुँदै आएको खाद्य संस्थानका विक्रेता तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।


क्लिकमान्डु