गाडी किन्न कुन बैंकले कति ब्याजमा ऋण दिन्छन् ? यस्तो छ, आकर्षक अफर



काठमाडौं । तपाईं गाडी किन्दै हुनुहुन्छ ? त्यसोभए राजधानीको भृकुटीमण्डमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो–२०१७ मा जानुहोस् । किनभने अटो शोको अवसरमा गाडी बिक्रेता कम्पनी र बैंकहरुले आकर्षक र सरल सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् ।

गाडी किन्नेहरुका लागि खासगरी बैंकको ब्याजदर र डाउनपेमेन्ट मूख्य चासोको विषय बन्ने गर्छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरुले कूल मूल्यको ६५ प्रतिशतसम्म कर्जा दिनसक्ने व्यवस्था गरिदिएको छ । जसकारण अघिल्ला वर्षकोभन्दा यो वर्ष गाडी किन्नेहरुका लागि अवस्था धेरै सहज छ ।

अटो शोमा झन्डै दर्जन बैंकहरुले अटो कर्जाको आकर्षक स्किमसहित स्टल नै राखेका छन् । उनीहरुले स्पोर्ट फाइनान्सिङको सुविधा पनि उपलब्ध गराएका छन् ।

यसको अर्थ के हो भने तपाईं १ करोड रुपैयाँ पर्ने गाडी किन्दै हुनुहुन्छ भने ३५ लाख रुपैयाँ नगद बुझाए गाडी चढ्न पाईन्छ । बाँकी ६५ प्रतिशत रकम बैंकले फाइनान्सिङ गरिदिन्छन् । र, तपाईंले बैंकलाई किस्ता तिरे पुग्छ ।

गएको असारसम्म बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अभाव थियो । जसको असर अहिले पनि ब्याजदरमा परिरहेको छ । बैंकहरुले असार मसान्तको बेस रेटलाई आधार मानेर अटो लोनको व्याजदर तोकेकाले गएको वर्षको तुलनामा यो वर्ष बैंकको ब्याज भने केही महंगो देखिएको छ ।

तर, अटो शोमा बैंकहरुले सामान्य अवस्थामा भन्दा केही सस्तो दरमै तपाईंलाई गाडी किन्न ऋण दिने आकर्षक योजनाहरु सार्वजानिक गरेका छन् ।

अटो शोमा झन्डै दर्जन बैंकहरुले अटो कर्जाको आकर्षक स्किमसहित स्टल नै राखेका छन् । उनीहरुले स्पोर्ट फाइनान्सिङको सुविधा पनि उपलब्ध गराएका छन् ।

स्टान्डर्ड चार्टर्ड सस्तो, सानिमा महंगो

अटो शोमा स्टल राख्ने बैंकहरुमध्ये स्टान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तोमा अटो लोन दिने स्किम ल्याएको छ । बैंकले ९.४७ प्रतिशत ब्याजदरमा कर्जा दिने र त्यसमा १ प्रतिशत सेवा शुल्क लिने जनाएको छ ।

त्यसैगरी, प्रभु बैंकले १२.२६ प्रतिशतमा र एनआइसी एशिया बैंकले ११.१५ प्रतिशत ब्याजदरमामा अटो लोन दिन्छन् ।

लक्ष्मी बैंकले भने १०.८२ ब्याजदर र ०.५ प्रतिशत सेवा शुल्क लिएर अटो लोन दिन्छ । बैंकले ९ वर्षका लागि यस्तो कर्जा दिने जनाएको छ ।
त्यसैगरी, मिहालयन बैंकले ८ वर्षका लागि १०.५ प्रतिशत ब्याजदर र ०.७५ प्रतिशत सेवा शुल्क लिएर अटो लोन दिन्छ ।

त्यस्तै, सिभिल बैंकले ११.५९ ब्याजदर र ०.७५ प्रतिशत सेवा शुल्क लिएर ७ वर्षका लागि अटो लोन दिने जनाएकोछ ।

त्यसैगरी, सानिमा बैंकले १२.५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि अटो कर्जा दिन्छ भने ग्लोब आइएमइ बैंकले पनि ७ वर्षका लागि ११.४० प्रतिशत ब्याजदरमा दिन्छ । बैंक अफ काठमाण्डूले भने ११.५ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ ।

यी हुन् कर्जा लिन चाहिने आवश्यक कागजात

नागरिकताको प्रतिलिपि
पासपोर्ट साइज फोटो
सवारीको कोटेशन
जागिरे हो भने हालको तलब खुल्ने कागजात
संस्था वा व्यवसायी भएमा कारोबारको नाफा नोक्सान विवरण, प्यान नम्बर
१ करोड र सोभन्दा बढी रकमको कर्जा लिने व्यक्तिगत ग्राहक भएमा पनि प्यान नम्बर आवश्यक पर्छ ।


पुष्प दुलाल