इलाम, पाँचथर र ताप्लेजुङमा जनता आवास कार्यक्रम



इलाम । इलामसहित मेची अञ्चलका अन्य दुई जिल्लामा पनि चालु आव २०७४÷०७५ देखि सरकारले ‘जनता आवास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

दलित, लोपोन्मुख तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै मेची पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा यो कार्यक्रम लागू गर्ने भएको हो । यसअघि झापा जिल्लामा मात्र यो कार्यक्रम सञ्चालनमा थियो । अतिविपन्न लक्षित वर्गलाई न्यून लागतमा आधुनिक आवास निर्माण गरी बसोबास गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, इलामले जनाएको छ ।

कार्यक्रमअन्तर्गत चालु वर्षमा प्रतिजिल्ला ५० घरका दरले तीन जिल्लामा एकसय ५० वटा आधुनिक घर निर्माण हुनेछन् । झापामा पाँचसय घर निर्माण गरिने भएको छ । आवास निर्माणका लागि चालु आवदेखि प्रतिआवास तीन लाख ३२ हजार अनुदान दिइने र लक्षित वर्गले अनुदानको कूल १० प्रतिशत लागत सहभागिताबापत व्यर्होनुपर्नेछ ।

झापा बाहेकका मेचीका प्रत्येक जिल्लालाई अनुदानबापत रू एक करोड ६६ लाख प्राप्त हुने कार्यालय प्रमुख कुमारप्रसाद घिमिरेले बताए । मेची अञ्चलका पहाडी जिल्लामा पहिलोपटक कार्यक्रम आएकाले जिल्लास्तरीय समन्वय समिति गठन गरेर समितिले सिफारिस गरेका लक्षित वर्गलाई जनता आवास कार्यक्रमको अनुदान दिइने समेत कार्यालय प्रमुख घिमिरेले बताए ।

दश लाभग्राही परिवार बसोबास भएको स्थान वा बस्तीमा कार्यक्रम कार्यान्वयन गरिनेछ । तर छरिएर बसोवास गरेका डोम, लोपोन्मुख तथा अतिसीमान्तकृत समुदायको हकमा भने यो बन्देज लागू नहुने जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७३ मा उल्लेख छ । रासस


क्लिकमान्डु