यी हुन् सेयर बजारमा इपिएस १०० रुपैयाँभन्दा बढी भएका कम्पनी



काठमाडौं ।  सेयर बजारमा विभिन्न खालका कम्पनी छन् । केही कम्पनीले एकवर्षमा नै लगानीभन्दा बढी नाफा दिन्छन् केहीले अहिलेसम्मपनि पनि १ रुपैयाँ नदिएका कम्पनीपनि सेयर बजारमा छन् ।

सेयर बजारमा लगानी गर्नको लागि वित्तीय विवरणमा हेर्नुपर्ने एउटा सूचकमा प्रति सेयर आम्दानी(इपिएस) पनि पर्छ । इपिएस बढी हुने कम्पनीले दिने लाभांश बढी हुन्छ । इपिएस कम भएका कम्पनीले दिने लाभांश रकम कम हुन्छ ।

सेयर बजारमा कुनै कम्पनीमा इपिएसको प्रभाव पर्छ कुनैमा नपरेको पनि देखिन्छ । गत आर्थिक वर्ष २०७३÷७४ को वार्षिक वित्तीय विवरण अधिकाशं कम्पनीले प्रकाशित गरिसकेका छन् । केही कम्पनीको विवरण आउन बाँकी छ ।

अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरुमा ६ वटा कम्पनीको इपिएस १०० रुपैयाँभन्दा बढी रहेको छ । जसमा दुईवटा लघुवित्त कम्पनी छन् ।

एउटा निर्जीवन बीमा कम्पनी,टेलिकम र कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई । इपिएस १०० भन्दा बढी हुने कम्पनीमा युनिलिभिर परेपनि यसको गत आर्थिक वर्षको वित्तीय विवरण भने प्रकाशित भएको छैन ।

वित्तीय विवरण प्रकाशित भएका मध्ये बोटलर्स नेपाल तराईको इपिएस ३ सय २७ रुपैयाँ छ । यसको नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सेयर मुल्य प्रतिकित्ता ७ हजार १०० रुपैयाँ छ । यस्तै बोटलर्स नेपाल बालाजुको इपिएस २७३ रुपैयाँ छ । यसको भने सेयर कारोबार नभएको एक वर्ष भइसक्यो । अन्तिम पटक यसको सेयर कारोबार १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

यसपछि इपिएस १२५ रुपैयाँ ३४ पैसा इपिएस रहेको संस्था फरवार्डको सेयर मुल्य ३७ सय ४० रुपैयाँ छ । २० करोड चुक्ता पुँजी भएको फरवार्डले २५ करोड रुपैयाँ नाफा गरेको थियो । यस्तै अर्को महुली वित्तीय संस्था जसको इपिएस १०७ रुपैयाँ छ । ४० करोड चुक्ता पुँजी भएको महुलीले ४३ करोड रुपैयाँ नाफा गरेको छ ।

यस्तै सेयर बजारमा दोस्रो बढी सेयर मुल्य हुने राष्ट्रिय बीमा कम्पनी लिमिटेडले वित्तीय विवरणमा इपिएस १९० रुपैयाँ देखाएको छ । तर,बोनस सेयर गणना नगरेर इपिएस निकालेको हुँदा यसको इपिएस १९० देखिएको हो । बोनस सेयर गणना गर्दा यसको इपिएस १०० रुपैयाँ हुन्छ । यसको सेयर मुल्य अहिले स्टक एक्सचेन्जमा प्रतिकित्ता १५ हजार ४०० रुपैयाँ छ ।

इपिएस १०० रुपैयाँ भए पनि सेयर मुल्य कम हुने कम्पनीमा नेपाल टेलिकम पर्छ । सरकारी लगानीको मोबाइल सेवा प्रदायक कम्पनी टेलिकमको इपिएस १०० रुपैयाँ छ । १५ अर्ब चुक्ता पुँजी भएको टेलिकमले यो वर्ष १५ अर्ब रुपैयाँ नाफा गरेको छ ।

स्टक एक्सचेन्जमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी पुँजी भएको कम्पनी टेलिकम हो । यसको सेयर आपूर्ती बढी भएको हुँदा इपिएस बढी हुँदा पनि सेयर मुल्य १ हजारभन्दा कम छ ।

टेलिकमले बोनस सेयरलाई प्राथमिकता दिएको हुँदैन । नगद लाभांश आउने हुँदा बोनस सेयर खोज्नेको लागि यो प्राथमिकतामा परेको हुँदैन । यसको सेयर मुल्य ७ सय ८ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु