प्रधानमन्त्रीको भारत भ्रमणः एयरबसबाट ५९ जनाको जम्बो टोली, के के छन् एजेण्डा ?



प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको एयरबस ३२०-२०० सिरिजको जहाजमार्फत् भारत भ्रमणमा जान लागेका छन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा निजी क्षेत्रको हिमालय एयरलाइन्स जहाज मार्फत चीन भ्रमणमा जादा व्यापाक आलोचना भएको थियो ।

त्यसयता गत वर्ष प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा गएका पुष्पकमल दाहालले पनि राष्ट्रिय ध्वजाबाहक निगमकै जहाजमार्फत् भ्रमणमा भारत गएका थिए ।

निगमको विहान १० बजेको उडानमा ५९ सदस्यीय टोली लिएर भारत भ्रमणमा जान लागेका हुन् । देउवा प्रधानमन्त्री भएपछि समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन् ।

निगमको जहाजमार्फत् जाने देउवा ११ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । गत जेठ २४ गते कार्यभार समालेपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री देउवा ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

द्विपक्षीय व्यापार प्राथमिकतामा

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा द्विपक्षीय व्यापार विषयमा प्राथमिकता रहेको छ । भ्रमणमा मुख्य एजेन्डा द्विपक्षीय व्यापार रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तराई क्षेत्रको बाढी र डुबान नियन्त्रण, द्विपक्षीय व्यापार र विकास निर्माणसंग सम्बन्धित विषयमा भ्रमणका क्रममा प्राथमिकताका साथ छलफल हुुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी भूकम्पपछिको पुननिर्माणमा सहयोग, मेची पुलको स्तरोनन्नति तथा निर्माण, लागू औषध नियन्त्रण र व्यापारिक बस्तुको गुणस्तर मापनसम्बन्धी विषयमा सम्झौता हुने परराष्ट्रको भनाई छ ।


पुष्प दुलाल