पहिलो नेपाल आइजिएफ सकियो



काठमाडौं । इन्टरनेटका बहूपक्षिय सरोकरावालाहरुका बिचमा अन्तराष्ट्रिय स्तरमा मात्र हुने गरेको इन्टरनेट गभर्नेन्स फोरम नेपालमा पहिलोपटक आयोजना भएको छ । दुईदिने सम्मेलन राजधानीमा शनिबार सकियो ।

इन्टरनेटको नीति, कानून, प्रयोग र अन्य सरोकारका विषयमा सम्बन्धित सवै पक्षको जमघटमा छलफल तथा बहसमा केन्द्रित फोरममा दुई दिनसम्म इन्टरनेट सम्बन्धी विभिन्न विधामा छलफल भए ।

इन्टरनेटसंग सरोकार राख्ने नेपालका झण्डै ५० वटा सरकारी तथा गैह्रसरकारी र व्यापारिक संघसंस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो । विभिन्न क्षेत्रका २ सय जनाको सहभागिता रहेको कार्यक्रममा विभिन्न १२ वटा विषयमा छुट्टाछुट्टै कार्यपत्र र समूहगत छलफल भयो ।
महिला र सूचना प्रविधि, युवा र सूचना प्रविधिको प्रयोग, गोपनियता, तथ्यांक संरक्षण र राष्ट्रिय सुरक्षा, इन्टरनेट इकोसिष्टम तथा प्रकोप न्युनिकरणमा सूचना तथा संचार प्रविधिको प्रयोग लगायतका विषयमा छलफल भएको थियो ।
इन्टरनेट गभर्नर फोरमको दोस्रो दिन नेपालमा स्मार्ट सिटीको सम्भाव्यता र प्रवर्धक, अनलाइन भुक्तानी र इन्टरनेटको पहुँचमा समावेशिता, साइबर सुरक्षा लगायतका विषयमा समेत छलफल भयो ।

नेपाल इन्टरनेट गभर्नान्स फोरम २०१७ को संयोजन तथा अध्यक्षता नेपाल सरकारको सूचना प्रविधि विभाग ले गरेको छ। कार्यक्रमको समन्वय र व्यवस्थापन इन्टरनेट सोसाइटी नेपाल ले गरेको छ ।


क्लिकमान्डु