बाढीले मोरङमा तीन करोडको तरकारीबाली नष्ट



विराटनगर । वर्षाका कारण मोरङमा रु तीन करोड मूल्य बराबरको तरकारीबाली नष्ट भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार तरकारीखेती नष्ट भएपछि यतिखेर विराटनगरलगायत क्षेत्रमा तरकारीको मूल्य अकासिएको छ । पोखरीमा बाढी पसेपछि एक करोड मूल्य बराबरको माछा नष्ट भएको छ ।

माछा उत्पादन हुने गरेका कटहरी, जहदा, पथरी–शनिश्चरे, बेलबारीलगायत क्षेत्रका किसान मारमा परेका छन् ।

मोरङमा धानबालीमा भएको क्षतिको तथ्यांक संकलन हुन सकेको छैन । जिल्लाका सोनवर्षी, रंगेली, सुन्दरहरैचा, बूढीगंगालगायत दक्षिणी क्षेत्रका तीन हजार हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको छ । पानी घटेपछि मात्र क्षतिको अनुमान गर्न सकिने यादवले बताए । रासस


क्लिकमान्डु