नेपाली उद्यमी व्यवसायीद्धारा चिनियाँ उपप्रधानमन्त्री वाङसँग भेट, लगानी बढाउन अाग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नीजि क्षेत्रको टोलीले चीन सरकारका उपप्रधानमन्त्री वाङ याङलाई बुधवार काठमाडौंमा भेटेको छ ।

छिमेकी मुलुक चीन सरकारका उपप्रधानमन्त्री वाङ याङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चीनको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग भएको उक्त औपचारिक भेटमा महासंघका अध्यक्ष राणाले विस्तारै समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको नेपालका लागि चिनियाँ सरकार तथा त्यहांको निजी क्षेत्रको सहयोग हाल आवश्यक रहेको जानकारी गराईन् ।

अध्यक्ष राणाले नेपाली उद्यमी व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न वा उत्पादन क्षमता बढाउन, लगानी प्रवद्र्धन वा नेपाल भित्र पर्याप्त आर्थिक अवसरहरुको सृजना गर्न अझ बढी चिनियाँ सहयोग नेपाली निजी क्षेत्रले खोजी रहेको स्पष्ट पारिन् ।

चीनसँगको चुलिँदो व्यापार घाटालाई न्यूनिकरण गर्न नेपाली उत्पादनहरूको चिनियाँ बजारमा सहज प्रवेशका लागि उपप्रधानमन्त्री समक्ष अध्यक्ष राणाले आग्रह गरिन् । यसका लागि चीनमा निर्यात सम्भाव्यता भएका नेपाली वस्तु तथा सेवाहरूलाई डयूटि फ्रि सहुलियत सुविधाको माग समेत गरिन् ।

सो अवसरमा चिनियाँ उपप्रधानमन्त्रीले नेपाली निजी क्षेत्रसँगको भेटवार्ता आफ्ना लागि अत्यन्त महत्वपूर्ण भएको बताए । उनले चीन नेपाल बीचको आर्थिक सहकार्य एवं आर्थिक सम्बन्ध निरन्तर रुपमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

भेटका क्रममा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु प्रदीपकुमार श्रेष्ठ र रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महासचिव सुरेश मान श्रेष्ठ उपस्थित थिए ।

त्यसैगरि सो भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले पनि आफ्ना भनाईहरु राखेका थिए ।


क्लिकमान्डु