यसो गरे एनटिसीको पोष्टपेडबाट फोन गर्दा पैसा लाग्दैन




काठमाडौं । मोबाइलमा बढी खर्च भयो भनेर चिन्तित हुनुहुन्छ ? हो भने मोबाइल खर्च घटाउने विधिबारे थाहा पाइराख्नुहोस् ।

नेपाल टेलिकम (एनटिसी) को पोष्टपेड मोबाइलबाट निःशुल्क फोन गर्न पाइन्छ । तर, यसको लागि केही शर्त वा प्रक्रिया भने पूरा गरेको हुनुपर्छ ।

टेलिकमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पोष्टपेड मोबाइलको यस्तो शर्त वा प्रक्रिया बारे जानकारी गराएको छ । एनटिसीको पोष्टपेड मोवाइलमा निःशुल्क कुरा गर्न पाइने स्कीम पहिलो पटक आएको हो ।

टेलिकमले आफ्ना जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकहरुका लागि अनलिमिटेड भ्वाइस कल गर्न सक्ने स्कीम मंगलबार सार्बजनिक गरेको हो । यो सुविधा साउन ३१ देखि शुरु भएर कात्तिक २७ गतेसम्म लागू हुनेछ ।

कर्पोरेट युजर ग्रुप (सीयूजी) स्कीम नाम दिइएको यो योजनामा कर्पोरेट युजर ग्रुप वाहेक नेपाल टेलिकमकै नेटवर्क भित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइने छ । कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराएको छ ।

सबैभन्दा सस्तो प्याकेज ४ सय रुपैयाँमा उपलब्ध हुनेछ । यस अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ ।

त्यसैगरी ७ सय रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक १ हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५ सय एमबी डाटा चलाउन, १३ सय रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१ सय एमबी डाटा चलाउन पाइनेछ । यस्तै १६ सय रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७ सय एमबी डाटा चलाउन पाइने टेलिकमले जानकारी दिएको छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरुबीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ ।

जीएसएम पोष्टपेड कर्पोरेट ग्राहकहरुलाई लक्ष्यित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जीएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने छन् । कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराए पछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने छ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ ।


क्लिकमान्डु