खोरुङगा किनारमा करोड लगानीको रिसोर्ट, झरना हेर्दै लोकल माछा, कुखुरा र तोङ्बाको स्वाद



काठमाडौं । गुराँसको राजधानीमा मानिने तेह्रथुममा धमाधम होटल तथा रिसोर्टहरु खुल्न थालेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि लगानीकर्ताहरु होटल तथा रिसोर्टमा लगानी गर्न आकर्षित भएका हुन् ।

गुरासँको राजधानी तनजुरे-मिल्के-जलजलेमध्ये तीनजुरेको सीधै तल खोरुङका खोलामा १ करोडको लगानीमा नयाँ रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय दुई दाजुभाई बमबहादुर (साहारा) र दूर्गा लिम्बूले फेदाप गाउँपालिका वडा नं. २ स्थित खोरुङका खोलाको किनार खोरुङगा खोला सांग्रिला रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा असला माछा, लोक कुखुरा, लोकल सुँगुरको परिकार तथा स्थानीय उत्पादनका परम्परागत खानाहरु रिसोर्टका विषेशता भएको सञ्चालक बमबहादुर लिम्बूले बताए ।

‘अग्र्यानिक स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटन विकासमा समेत टेवा पुर्याउने उदेश्यले रिसोर्ट सञ्चालन गरेका हौं,’ लिम्बूले क्लिकमाण्डूसँग भने ।

रिसोर्टमा स्वीमिङ पुल पनि छ । कार्यक्रम गर्नेहरुका लागि रिसोर्टमा १०० जना अट्ने हल पनि छ । स्थानीय कलाशैलीमा ढुंगाको गाह्रो लगाएर बनेको एउटा सुन्दर घर र २ केटजहरु छन् । त्यस्तै, ४ माछा पोखरी पनि छन् ।

ग्राहकले आफैंले माछा मारेरसमेत खान सक्ने उनले जानकारी दिए । रिसोर्टमा स्वादिष्ट परिकारहरुको मज्जा लिँदै खोलापारी रहेको झरनाको मनमोहक दृश्यावलोकन गर्न सकिनेछ ।

पछिल्ला वर्षहरुमा तेह्रथुममा गुराँस हेर्न आउनेको सङ्ख्या बढ्दो छ, जसकारण सदरमुकाम म्याङलुङलगायत वसन्तपुर, जिरिखिम्ती, शुक्रबारे र सक्रान्तिबजार क्षेत्रमा सुविधायुक्त होटल तथा रिसोर्टहरु थपिएका छन्।

सदरमुकाम म्याङलुङदेखि ८ किलोमिटर उत्तरपूर्वमा रहेको खोरुङका खोललामा रिसोर्ट खोलिएको हो । व्यवसायी लिम्बू खोला नजिकै रहेको स्थानीय बजार हलिमेलामा होटल तथा अन्य व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

‘मध्यपहाडी लोकमार्ग र यसका सहायकमार्गहरुका कारण रिसोर्ट खोलिएको क्षेत्र रिङरोडजस्तै छ, त्यसैले राम्रो संभावना देखेर खोला किनारमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो,’ लिम्बूले भने ।  

गत चैत २३ गतेदेखि सफ्ट ओपनिङ र हालैमात्र ग्राण्ड ओपनिङ भएको रिसोर्टमा दिनानूदिन ग्राहकको आकर्षण बढेको देखेर आफू अझ बढी उत्साहित भएको उनले सुनाए । रिसोर्टले बस्ने ग्राहकहरुलाई लागि भन्दा दिनभर रमाइलो गरेर फर्किने ग्राहकलाई फोकस गरेको छ । रिसोर्टमा हाल ३ रुम छन् । र, अब तत्कालै ४ वटा रुम थप गर्ने लिम्बूले जानकारी दिए । 


पुष्प दुलाल