अष्ट्रेलियामा रहेका म्याग्देलीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई २० लाख सहयोग
काठमाडौं । म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (अष्ट्रेलिया)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि २० लाख सहयोग गरेको छ ।
नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यले सहयोग जुटाउन अष्ट्रेलिया जानुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् अभियानकर्ता डा महवीर पुनको स्वागतमा अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा मोना अष्ट्रेलियाले सो रकम सहयोग गरेको मोना अष्ट्रेलियाका अध्यक्ष हरि राम्जालीले जानकारी दिए ।
अष्ट्रेलियाको सिड्नीस्थित रकडेलको एभरेष्ट फङसन सेन्टरमा आयोजित कार्यक्रममा सिड्नीमा रहेका विभिन्न संस्थाको उपस्थित रहेको थियो । नेपालमा आविष्कार केन्द्रको आवश्यकताबारे अध्यक्ष एवम् अभियानकर्ता महावीर पुनले प्रस्ट पारे । सो कार्यक्रममा उपस्थित भएकाबाट मात्रै २० लाख रकम संकलन भएको अध्यक्ष राम्जालीले जानकारी दिए ।
मोना म्याग्दी, बेनी एफसी, जलजला परिवार र मगर समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा
यसैगरी, म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् । २०६८ सालको जनगणनाअनुसार म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७।८ प्रतिशत अर्थात् ८८ हजार ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।
कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ६९ हजार १८६ र स्काई फोनका १५ हजार २६३ जना रहेका छन् ।
यसैगरी, पोस्टपेड मोबाइल बोक्ने एक हजार ६७८, ल्याण्डलाइन टेलिफोनका ग्राहक एक हजार ३०६ र सिडिएमएका ५०९ जना ग्राहक रहेको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताए ।
ल्याण्डलाइन टेलिफोन सेवातर्फ म्याग्दी सदरमुकाम बेनीबजारमा मात्रै एक हजार २२२ जना ग्राहक रहेको उनले जानकारी दिए । उनका अनुसार धार्मिक क्षेत्र गलेश्वरमा ५१ र पर्यटकीय क्षेत्र घोरेपानीमा ३३ ग्राहकले ल्याण्डलाइन फोनको प्रयोग गर्दै आइरहेका छन् ।रासस