वाईवाईले जित्यो मार्की अवार्ड २०१७



काठमाडौं । वाईवाई नूडल्सले भारतको ख्यातीप्राप्त ‘मार्की अवार्ड २०१७’ प्राप्त गरेको छ ।

मुंवईमा दि एडभरटाईजिङ क्लबद्वारा आयोजित विशेष समारोहमा भारतीय वस्त्र, सूचना एवं प्रसारण मन्त्री स्मृती इरानीले उक्त अवार्ड सिजी कर्प ग्लोबलका कार्यकारी निर्देशक बरुण चौधरीलाई प्रदान गरेकी हुन् ।

भारतीय बजारमा आफ्नो सशक्त उपस्थिती बढाउदै जादा वाईवाईलाई यो सफलता प्राप्त भएको हो । वाईवाई अहिले भारतीय नूडल्स बजारमा दोसं्रो सशक्त ब्राण्ड हो ।

छोटो समयमा भारतीय उपभोक्ताको मन जित्न सफल यो ब्राण्डलाई भारतमा तिब्र गतिमा विस्तार भईरहेको ब्राण्डका रुपमा लिईन्छ । हाल वाईवाईले भारतीय नूडल्स बजारको २७ प्रतिशत हिस्सा ओगट्छ । वाईवाई नूडल्सका अतिरिक्त अहिले भारतीय बजारमा ‘वाईवाई सिटी’ पनि उत्तिकै लोकप्रिय बन्दै गईरहेको छ ।

यो वाईवाई नूडल्सबाट निर्मित परिकारहरु उपलब्ध हुने ‘क्विक सर्भिस रेष्टुरेन्ट’ हो ।

अवार्ड वितरणका लागि आयोजित समारोहमा बोल्दै प्रशारण मन्त्री इरानीले अवार्ड विजेता वाईवाईलाई बधाई दिइन् । वाईवाईले भारतका अन्य चर्चित ब्राण्डहरूसँगको प्रतिस्पर्धामा आफुलाई अब्बल सावित गर्दै अवार्ड जित्न सफल भएको हो ।

‘वाईवाईलाई विश्वब्यापी प्रतिष्ठित ब्राण्ड बनाउने हाम्रो प्रयासमा माक्र्यू अवार्डबाट थप हौसला प्राप्त भएको छ ।

यसको श्रेय म सम्पूर्ण वाईवाईका उपभोक्ताहरूलाई दिन चाहान्छु’, कार्यकारी निर्देशक बरुण चौधरीले भने, ‘नेपाली ब्राण्ड विश्व बजारका चर्चित ब्राण्डहरूको प्रतिस्पर्धामा अब्बल सावित हुन सक्छ भन्ने वाईवाईले सावित गरेको छ । यो हाम्रा लागि झनै खुसीको बिषय हो ।’

वाईवाई युरोपमा विस्तार भएको लगत्तै भारतीय बजारमा उसलाई यो सफलता प्राप्त भएको छ । दुई साताअघि वाईवाई सर्वियाबाट उत्पादन शुरू भएको थियो । वाईवाई अफ्रिका, मध्यपूर्व र एसियाका विभिन्न ठाउँहरूबाट उत्पादन गर्ने योजना कार्यान्वयनमा छ ।


क्लिकमान्डु