स्थानीय तहमा विकास बैंकले पनि सरकारी कारोबार गर्न पाउने



काठमाडौं । स्थानीय तहमा अब विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउने भएका छन् । वाणिज्य बैंक नपुगेका र जान नमानेका स्थानीय तहमा राष्ट्रियस्तरका विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउने भएका हुन् ।

यसैहप्ता नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक नपुगेका स्थानीय तहमा राष्ट्रियस्तरका विकास बैंकहरुलाई सरकारी कारोबार गर्न पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको डेपुटी गभर्नर शिवराज श्रेष्ठले जानकारी दिए ।

अहिले वाणिज्य बैंक जान नमानेका ३ दर्जन स्थानीय तहमा राष्ट्रियस्तरका विकास बैंकहरु पुगिसकेकोका छन् ।

‘पहिले वाणिज्य बैंकहरुले मात्रै स्थानीय तहमा सरकारी कारोबार गर्न पाउने व्यवस्था थियो, ७४४ स्थानीय तहमध्ये २२५ तहमा वाणिज्य बैंकहरु जान मानेका थिएनन्,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘त्यसैले हामीले ती स्थानहरुमा राष्ट्रियस्तरका विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउने व्यवस्था मिलाइदिन अर्थ मन्त्रालयलाई पत्रचार गरेका हौैं ।’

सरकारले चालू आर्थिक वर्षको बजेटमा स्थानीय तहहरुले वाणिज्य बैंकसँग मात्रै कारोबार गर्न पाउने उल्लेख गरेको थियो । तर, सबै स्थानीय तहमा वाणिज्य बैंक नपुगेको र २२५ स्थानीय तहमा जान नसक्ने बताउँदै आएका थिए ।

विकास बैंकहरु आफूहरुलाई पनि स्थानीय तहमा हुने सरकारी कारोबार गर्न पाउने व्यवस्था मिलाइदिन अर्थ मन्त्रालय र राष्ट्र बैंकमा तीब्र लबिङ गरेका थिए ।

राष्ट्र बैंकको सञ्चालक समितिले निर्णय गरेर राष्ट्रियस्तरका विकास बैंकलाई पनि स्थानीय तहको सरकारी कारोबार गर्न पाउने व्यवस्था मिलाइदिन पत्राचार गरेको हो ।

अर्थ मन्त्रालयले वाणिज्य बैंकसँगमात्रै कारोबार गर्न पाउने नीतिगत व्यवस्थामा संसोधन गरी विकास बैंकहरु पनि जान पाउने व्यवस्था गर्न लागेको हो । यसका लागि महालेखा परिक्षकको कार्यालयको स्वीकृति पनि लिनुपर्ने हुन्छ । अर्थ मन्त्रालयले महालेखालाई स्वीकृति दिन आग्रह गरेको छ ।

आफूहरुको मागको सुनुवाई हुने निश्चित भएको डेभलप्मेन्ट बैंकर्स एसोशिएसनका अध्यक्षसमेत रहेका मुक्रिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।

‘सरकारले हाम्रो मागलाई सम्बोधन गर्नक लागि नीति नै संसोधनको प्रक्रिया अघि बढाइसकेको छ, जसले हामीलाई निकै उत्साहित बनाएको छ,’ ढकालले क्लिकमाण्डूसँग भने ।

अहिले वाणिज्य बैंक जान नमानेका ३ दर्जन स्थानीय तहमा राष्ट्रियस्तरका विकास बैंकहरु पुगिसकेको ढकालले जानकारी दिए ।

‘वाणिज्य बैंक जान नमानेका करिब १९० स्थानीय तहमा कुन विकास बैंक कहाँ जाने भनेर आगामी हप्ता राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई सूचि बुझाउछौँ,’ उनले भने ।


पुष्प दुलाल