पल्सर डेयर भेन्चर तेस्रो संस्करण, सबै ब्राण्डका बाइकले प्रतियोगितामा भाग लिन पाउने



काठमाडौं । नेपालमा बजाजको अधिकृत विक्रेता हंसराज हुलासचंद बजाजले सामसङसँगको सहकार्यमा पल्सर डेयरभेन्चरको तेस्रो संस्करणको घोषणा गरेको छ । यसको ट्यागलाइन ‘न्यू रुट, न्यू थ्रिल्स अ कल फर फियरलेस राइडर्स’’ राखिएको छ ।

पल्सर डेयरभेन्चर बजाजले आयोजना गरेको नेपालको पहिलो बाइक रियालिटि शो हो । डेयरभेन्चर रियालिटि सो सन् २०१४ मा सुरु भएको थियो भने पल्सर डेयरभेन्चर २ को दोस्रो शो सन् २०१६ मा प्रस्तुत गरिएको थियो ।

पल्सर डेयरभेन्चरको तेस्रो सिजनमा १० साहसी प्रतियोगिहरुले नयाँ पल्सर बाइकमा ‘अन-अफ रोड’ हुँदै एउटा साहसिक राइडमा जाने मौका पाउनेछन् । प्रतियोगितामा सामेल हुनका लागि प्रतियोगिहरुले शुरुवातमा नै विभिन्न तालिमहरु लिनुपर्ने कम्पनीले जनाएको छ ।

पहिलो पुरस्कार विजेताले १० लाख रुपैयाँ र पल्सर एनएस, दोस्रो पुरस्कार विजेताले ५ लाख रुपैयाँ र पल्सर एनएस र तेस्रो पुरस्कार विजेताले पल्सर एनएस पाउने छन् । यसका साथै राइडकै क्रममा प्रतियोगिहरुले फरक-फरक विधाहरुमा पनि आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।

यस प्रतियोगिताका पार्टनरहरु शिखर इन्स्योरेनस, सर्भो लुब्रिकेन्टस्, इसिएस मिडिया,बाइकर्स नेपाल, सर्भो, र ग्राण्डि इन्टरनेशनल हस्पिटल रहेका छन् ।

यसअघिका प्रतियोगिताहरुको तुलनामा, यो वर्ष प्रतियोगीहरुको दर्ता निशुल्क गरिएको छ भने कुनैपनि ब्राण्डका बाईक भएका प्रतियोगिहरुले पनि सहभागीता जनाउन सक्नेछन् । सहभागी हुन चाहनेहरुले नजिकैको बजाजको शोरुमहरुमा गएर, आधिकारिक सवारी चालक अनुमतिपत्र, नागरिकता, र दुई प्रति फोटोका साथमा दर्ता गर्न सक्नेछन् ।

प्रतियोगितामा सहभागी हरेक बाइकर्सले पल्सर डेयरभेन्चर ३ को अन्तिम १० मा छनौट हुन अडिसन, फिजिकल फिटनेस टेस्ट, अब्स्ट्याकल टेस्ट, मेडिकल टेस्ट र एटिट्च्यूड टेस्ट पास गर्नुपर्नेछ भने अन्तिम १० प्रतिस्पर्धीहरुका लागि ग्रुमिङ सेशन पास गर्नु पर्नेछ ।

प्रतियोगीताका दौरान प्रतिस्पर्धिहरु काठमाडौँबाट शुरु भएर घाँसीकुवा, बेशिशहर, बाहुनडाँडा हुँदै मनाङ्गको खाङ्गसार पुग्नुपर्ने छ ।


पुष्प दुलाल