भदौ ३० देखि बुद्ध एयरले पोखराबाटै आधा घन्टाको माउन्टेन फ्लाइट गर्ने, मूल्य कति ?



काठमाडौं । बुद्ध एयरले पोखराबाटै माउन्टेन फ्लाइट गर्ने भएको छ । पोखराबाट अन्नपूर्ण, धौलागिरी र मनास्लु हिमाल क्षेत्रमा माउन्टेन फ्लाइट गर्न लागेको हो ।

सो क्षेत्रको माउन्टेन फ्लाइटको अवधि ३० मिनेटको हुने र एउटा फ्लाइटका लागि ११२ डलर अर्थात् साढे ११ हजार नेपाली रुपैयाँ तिर्नुपर्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

‘अन्नपूर्ण–धौलागिरी–मनास्लु एरियामा यसअघि पनि बद्ध एयरले चार्टर्ड माउन्टेन फ्लाइट गर्दै आएको थियो, तर आगामी सेप्टेम्बर १५ अर्थात् भदौ ३० देखि पोखराबाटै सेड्युल उडान भर्छौं,’ बजार निर्देशक जोशीले क्लिकमाण्डूसँग भने ।

३ वटा जहाजमार्फत एकै समय माउन्टेन फ्लाइट गर्ने उनले जानकारी दिए ।

बुद्धले यसअघि काठमाडौंदेखि सगरमाथा क्षेत्रमा १ घन्टाको माउन्टेन फ्लाइट गर्दै आएको थियो । पछिल्लो समय माउन्टेन फ्लाइटप्रति खासगरी विदेशी पर्यटकहरुको आकर्षण बढेपछि बुद्धले पोखराबाट सेड्युल फ्लाइट सुरु गर्न लागेको हो ।

त्यसैगरी, भदौ ३० गतेदेखि नै बुद्धले पोखरादेखि चितवनको भरतपुरसम्म सिधा उडान सुरु गर्ने भएको छ । पोखरा–भरतपुर दैनिक एक उडान भर्ने जोशीले बताए ।

‘१८ सिटे जहाजबाट पोखरादेखि भरतपुर र भरतपुर देखि पोखरासम्म दैनिक एक उडान हुन्छ, उडान सुरु भएपछि आउने रेसपोन्सको आधारमा सिट संख्या र उडान संख्या बढ्छ,’ उनले भने ।

१० वर्ष अगाडि साग्रिला एयरले पोखरा देखि भरतपुर उडान गरेको थियो । अहिले साग्रिलाको अस्थित्व छैन । चाटर्ड फ्लाइट भने औसतमा हप्ताको एउटा पोखरादेखि भरतपुर हुने गरेको छ ।

नारायणगढ मुग्लिन सडक खण्ड अत्याधिक खराब भएपछि चितवन जाने पर्यटकको संख्या कमी आएको छ । पोखरा र चितवनको प्याकेज टुर पनि हुन छाडेको छ ।

बाटो खराब भएको हुँदा जहजमा अकुपेन्सी राम्रो हुने देखिन्छ । अहिले काठमाडौं देखि भरतपुरसम्मको उडानमा अत्याधिक टिकटको माग रहेको छ ।


पुष्प दुलाल