प्रभु बैंकको नाफा पौने २ अर्ब, प्राइमको डेढ अर्ब




काठमाडौं । प्रभु बैंकले आफ्नो सुधारको गतिलाई गत आर्थिक बर्ष पनि तीब्र राखेको छ । गत आर्थिक बर्षको अपरिष्कृत वित्तीय बिवरण प्रकाशित गर्दै बैंकले १ अर्ब ७५ करोड रुपैंयाँ खुद नाफा कमाएको जानकारी दिएको छ । यो भनेको अघिल्लो बर्षको तुलनामा ५२.६० प्रतिशतको बढोत्तरी हो ।

बैंकको सञ्चालन नाफा पनि ५६.३३ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैंयाँ पुगेको छ । नाफा बढेसँगै प्रभुको प्रतिसेयर आम्दानी २९.७८ रुपैंयाँ पुगेको छ ।

बैंकले गत बर्ष ८१ अर्ब ३४ करोड रुपैंयाँ निक्षेप संकलन गरेको छ भने ६१ अर्ब ९७ करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ । बैंकको कुल ब्याज आम्दानी २ अर्ब ५२ करोड रुपैंयाँ रहेको छ ।

प्रभु बैंकका लागि ग्राण्ड बैंकलाई आफूमा समाहित गरे पश्चात सबैभन्दा ठूलो चुनौति भनेको खराब कर्जाको ब्यवस्थापन थियो । बैंक यसमा पनि खरो उत्रदैं अघिल्लो बर्षको ८.३८ प्रतिशत खराब कर्जालाई ४.२९ प्रतिशतमा झार्न सफल भएको छ । एक बर्षको अबधिमा बैंक खराब कर्जाको अनुपातलाई राष्ट्र बैंकले तोकेको सीमामा ल्याएको छ । बैंकहरुको खराब कर्जाको अनुपात कुल कर्जाको ५ प्रतिशतभन्दा कम हुनुपर्छ ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैंयाँ छ । राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब रुपैंयाँ पुँजी पुर्याउन बैंकले ४० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

यसैगरी प्राइम कर्मसियल बैंकले पनि आफ्नो खुद नाफा ३२.९० प्रतिशतले बढाएको छ ।

बैंकले खुद नाफा अघिल्लो बर्षको १ अर्ब ११ करोड रुपैंयाँमा ३७ करोड रुपैयाँ बढाउँदै गत बर्ष १ अर्ब ४८ करोड रुपैंयाँ पुर्याएको छ । बैंकले सञ्चालन नाफा पनि १ अर्ब ४३ करोड रुपैंयाँबाट बढाएर २ अर्ब १ करोड रुपैंयाँ पुर्याएको छ ।

बैंकले निक्षेप र कर्जा परिचालनमा पनि ३६.२५ र ४३.३० प्रतिशतको बढोत्तरी गरेको छ । पुँजी ३८.७९ प्रतिशतले बढाएर पनि प्रतिसेयर आम्दानी २३.४४ रुपैंयाँमा राख्न प्राइम बैंक सफल भएको छ । र, खराब कर्जालाई १.२३ प्रतिशतबाट घटाएर ०.७८ प्रतिशतमा झारेकोे छ ।


क्लिकमान्डु