अब काठमाडौंका ८ सडकमा ठूला, १६ मा मझौला र ४२ सडकमा साना गाडी मात्रै



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकमा सडकको आकार अनुसारका गाडी चलाउने नीति कार्यान्वयनमा ल्याएको छ । उपत्यकाको यातायात व्यवस्था सुधारका लागि ठूला सडकमा ठूला, मझौला सडकमा मझौला र साना सडकमा साना गाडी चलाउने नीति अनुसार काम अघि बढाएको हो ।

उपत्यकाको यातायात व्यवस्थालाई सुधार गर्नका लागि साउन १ गतेदेखि सडक र गाडीको अवस्था अनुसार रुट प्रमिट दिने व्यवस्था लागू गरिएको यातायात व्यवस्था विभागका प्रवक्त डा. टोकराज पाण्डेले जानकारी दिए ।

‘अब गाडी र सडकको अवस्था र रुट हेरेर मात्रै इजाजत दिने गरेका छौं,’ पाण्डेले क्लिमाण्डूसँग भने ।

काठमाडौंका रुट भद्रगोल हैन निश्चित हुन पर्छ भनेर ६६ वटा रुट निर्धारण गरेको हो, ठूला गाडी ८, मझौला गाडी १६ र साना गाडीका लागि ४२ रुट सिफारिस गरेको छ ।

यसअघि रुट प्रमिट माग्न आउनेलाई गाडीको आकार र सडकको आकार हेरेर प्रमिट दिने व्यवस्था थिएन ।

काठमाडौं उपत्यकाका सडकमा बिनामापदण्ड ठूलादेखि साना गाडी चल्दा यातायात व्यवस्था अस्तव्यथ भएको निष्कर्श निकाल्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।

काठमाडौंका ठूला गाडी चल्न उपयुक्त सडकमा नयाँ साना गाडीले रुट प्रमिट पाउने छैनन् । ठूला गाडीको बढ्दो प्रयोगसँगै सानी गाडीधनीहरु पनि ठूला गाडी ल्याउन बाध्य हुने पाण्डेको तर्क छ ।

सरकारले काठमाडौंको यातायात सुधारका लागि भन्दै गोंगबुदेखि सिनामंगल रुटमा चल्ने टेम्पो हटाउने निर्णय गरेका थियो । सो रुटबाट विस्थापित हुने गाडीको क्षतिपूर्ति स्वरुप १५ प्रतिशत र सहुलियत ब्याजमा ८० प्रतिशत रकम दिने व्यवस्था गरेको थियो ।

क्षतिपूर्तिको दाबी गर्न १ जना पनि टेम्पो धनी नआएको र निजी सम्पतिमा रोक लगाउन नमिल्ने भएकाले सो व्यवस्था कार्यान्वयन गर्न नसकिएको उनले स्वीकार गरे ।

यातायात व्यवस्था विभाग साना ठूला कार्यालय बाग्मतीका प्रमुख बसन्त अधिकारीले काठमाडौंको यातायात व्यवस्थालाई सुदृढ बनाउनका लागि काठमाडौं सस्टेनएवल अर्वान ट्रास्पोर्ट प्लान (केएसएटिपि) ६६ वटा रुट सिफारिस गरेको जानकारी दिए ।

‘केएसएटिपिले काठमाडौंका रुट भद्रगोल हैन निश्चित हुन पर्छ भनेर ६६ वटा रुट निर्धारण गरेको हो, ठूला गाडी ८, मझौला गाडी १६ र साना गाडीका लागि ४२ रुट सिफारिस गरेको छ,’ अधिकारीले भने ।


पुष्प दुलाल