भूकम्पले भत्किएका निजी घरलाई अनुदान दिन पुनर्निर्माण प्राधिकरणले पठायो ५३ अर्ब




काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदान बितरणका लागि ५३ अर्ब रुपैया स्थानीय बिकास मन्त्रालयमा पठाएको छ ।

अवको एक बर्षभित्रमा निजी आवास पुननिर्माण गर्ने उद्देश्यले अनुदान बितरणका लागि समय सीमा निर्धारण गरेको प्राधिकरणले रकम पठाएको हो ।

जिल्लामा पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम अभाव हुन नदिन अग्रीम रुपमै संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई बुधवार उक्त रकम पठाइएको प्रवक्ता यमलाल भूसालले जानकारी दिए ।

नयाँ आर्थिक बर्ष शुरु भएपछि प्राधिकरणले निजी आवास अनुदान बितरणका लागि पहिलो पटक यो रकम स्थानिय बिकास मन्त्रालयलाई पठाएको हो ।

उक्त रकम भूकम्प प्रभावित जिल्लामा निजी आवास अनुदान वितरणका लागि आवश्यकता अनुसार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले लाभग्राहीलाई बितरण गर्नेछ ।

प्राधिकरणले निजी आवास अनुदान बितरणलाई तिव्रता दिन अग्रिम रुपमै भूकम्प प्रभावित जिल्लामा रकम पठाएर आवश्यक समन्वय गर्न सरोकारवाला निकायलाई निर्देशन दिइसकेको छ । प्राधिकरणले यो आर्थिक बर्षको अन्त्यसम्ममा अनुदानको सवै रकम बितरण गर्ने कार्ययोजना बनाएको छ ।

अहिलेसम्म भूकम्प प्रभावित ३१ जिल्लामा अनुदान सम्झौता भएका कुल लाभग्राही मध्ये ६ लाख ३ हजार ५३ लाभग्राहीले अनुदानको पहिलो किस्ता लिइसकेका छन् भने दोस्रो र तेस्रो किस्ता बितरण पनि तिव्र रुपमा भइरहेको छ ।

सर्वेक्षणबाट पहिचान भएका कुल ७ लाख २४ हजार ८ सय ९५लाभग्राही मध्ये ६ लाख ३१ हजार ८२ लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो ।

पहिलो चरणमा भूकम्प अतिप्रभावित १४ जिल्लालाई प्राथमिकता दिएर अनुदान बितरण गरिएपनि कम प्रभावित १७ जिल्लामा पनि अहिले अनुदान बितरणको काम तिव्र रुपमा भइरहेको छ ।

भूकम्प अति प्रभावित १४ जिल्लामा १ लाख १५ हजार ४९ घर पुनर्निर्माण शुरु भइसकेको छ भने ४६ हजार ५ सय ५५ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।


पुष्प दुलाल