रेनल्ट बन्यो विश्वमा सर्वाधिक बिक्री हुने कार



काठमाडौं । चालू वर्षको सुरु अर्धवार्षिक अवधिमा अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै बिक्रीका आधारमा निसान र फ्रान्सेली कम्पनीको गठबन्धन पहिलो भएको छ । फक्सवागन, टोयोटा र जनरल मोटर्सलाई पछाडि पार्दैै निसान–रेनल्ट पहिलो भएको हो ।

गत वर्ष मात्रै खरिद गरिएको मित्सुबिसी मोटर्सलाई समेत समावेश गर्दा निसान–रेनल्टको गठबन्धन पहिलो भएको हो । यो गठबन्धनले जनवरीदेखि जुनसम्मको अवधिमा ५२ लाख ६८ हजार ७९ सवारी साधन बिक्री गरेको छ ।

यो संख्या फक्सवागनको ५१ लाख २९ हजारभन्दा बढी हो । अउडी र लामबोर्घिनीसमेत सहभागी भएको फक्सवागन गत वर्ष पहिलो पटक विश्वमै सर्वाधिक सवारी बिक्री गर्ने कम्पनी भएको थियो ।

पहिलोदेखि चौथो सम्म
पहिलो-रेनल्ट
दोस्रो-फक्सवागेन
तेस्रो-टोयोटा
चौथो-जनरल मोटर्स

अमेरिकी कम्पनी जनरल मोटर्सले बिक्रीका आधारमा विश्वमा ७ दशकको अवधिसम्म पहिलो स्थान ओगट्दै आएको थियो । तर, चालू वर्षको सुरु अर्धवार्षिक अवधिमा यो कम्पनीले ४७ लाख सवारी बिक्री गरेर चौथो स्थानमा ओर्लिएको छ ।

प्रदूषण छली काण्डमा मुछिएका कारण फक्सवागनको ख्यातिको असर परे पनि चीन र अन्य बजारमा बिक्री बढेकाले यो कम्पनीको बिक्री पनि उत्साहजनक नै रह्यो ।

तर पूरै वर्षको अवधिमा विश्वव्यापी बिक्रीमा निसानले आफ्नो पहिलो स्थान कायम राख्न सक्ने वा नसक्ने भन्ने विषय भने अझै अस्पष्ट छ । अटो क्षेत्रका अधिकारीहरुले भने बिक्री संख्याको महत्वलाई त्यति ध्यान दिएका छैनन् ।

उनीहरुले उपभोक्तालाई सन्तुष्ट पार्नका लागि राम्रो उत्पादन ल्याउने विषयलाई बढी महत्व दिएका छन् ।

तर, बिक्रीका आधारमा विश्वकै पहिलो नम्बरको सवारी साधन हुने विषयलाई महत्व दिनेमा फक्सवागन अपवादका रुपमा रहँदै आएको छ ।

तर निसान-रेनोल्टको उदयले डेट्रोइटबाहिरका उत्पादकहरुको शक्तिलाई उजागर गरेको छ । बिक्री वृद्धिले उच्च नाफा गर्न नसकेमा बिक्री संख्या अर्थहीन हुने निसान कर्पोरेटका उपाध्यक्ष जोजी तागावाले बताए ।

‘पहिलो, दोस्रो वा तेस्रो स्थानमा पर्नुले मलाई व्यक्तिगत रूपमा अर्थ राख्दैन,’ उनले भने । यो आफ्नो कम्पनीको लक्ष्य पनि नभएको उनले बताए ।

केमरी सेडान, प्रिअस हाइब्रिड र लेक्सास विलासी मोडलको निर्माता टोयोटाले बिक्रीका आधारमा २००८ मा जीएम मोटर्सलाई पछाडि पारेको थियो । तर, पछि २०११ मा आएर जीएमभन्दा पछाडि परेको थियो । फक्सवागनले उक्त स्थान लिनुपूर्व पुनः टोयोटा पहिलो स्थानमै पर्न सफल भएको थियो । एजेन्सी


पुष्प दुलाल