नेपालकै एउटा बैंक, जहाँ ‘परी’ले स्वागत गर्छिन् र बैंकिङ सिकाउँछिन्




काठमाडौं । बाहिरबाट झट्ट हेर्दा ‘स्मार्ट क्याफे’, ‘आइस क्रिम पार्लर’, ‘आइटी सेन्टर’ वा यस्तै केही जस्तो देखिन्छ । तर, खासमा एसबिआइ बैंकको दरबारमार्ग स्थित ‘स्मार्ट’ शाखा कार्यालय हो यो । अन्य बैंक शाखामा जस्तो ‘टेलर’ वा ‘कस्टुमर सर्भिस’का लागि भनेर कर्मचारीहरु खटाइएका छैनन् यहाँ ।

पैसा राख्ने, झिक्ने, चेक जम्मा गर्ने, खाता खोल्ने, तत्कालै डेबिट कार्ड प्रिन्ट गर्नेलगायत काम मेसिनकै भरमा गर्न सकिन्छ यहाँ ।

केही दशक अघिको मात्र कुरा हो, बैंकमा पैसा बचत गर्ने र निकाल्ने जस्तो अति सामान्य बैंकिङ करोबारका लागि पनि सोर्स फोर्स लगाउनु पर्दथ्यो । सोर्स फोर्स नभएका मानिसहरु सामान्य बैंकिङ कारोबार गर्न पनि दिन माया मार्थे ।

कर्मचारीहरु मोटा मोटा ढड्डामा हिसाब किताब राख्थे । कहिलेकाँही ढड्डामा मसी वा पानी पोखिँदा सारा हिसाब नै गोलमाल हुन्थ्यो ।

२०४६ सालको राजनीतिक परिर्वतनपछि शुरु भएको आर्थिक उदारीकरणले यो परिस्थिति परिवर्तनमा सघायो । निजी क्षेत्रका बैंकहरु खुले । प्रतिस्पर्धा बढ्यो । प्रतिस्पर्धा बढेपछि त्यसमा खरो उत्रन नयाँ नयाँ प्रबिधि र सेवाको शुरु गर्नु अपरिहार्य हुने नै भयो ।

अहिले सामान्य बैंकिङ कारोबारका लागि मुस्किलले १५ देखि २० मिनेट समय लाग्ने भएको छ । कुनै शाखामा धेरै भिड भए वा कुनै प्रबिधिक समस्या आए सवारीसाधन भएका मानिसहरु सोही बैंकको अर्को शाखामा तुरुन्तै पुगेर आफ्नो काम फत्ते गर्न सक्छन् ।

र, यसो गर्दा अतिरिक्त पैसा पनि लाग्दैन । बैंकहरुले संचालन गरेको एनिब्रान्च बैंकिङ सेवा (एविविएस) ले यस्तो सुबिधा दिइरहेको छ ।

यसबर्षको मौद्रिक नीति मार्फत आएको एउटा बैंकमा रहेको खाताको रकम अर्काे बैंकबाट झिक्न पाइने वा एउटा बैंकमा रहेको खातामा अर्काे बैंकको शाखा मार्फत पैसा राख्न पनि पाइने सुबिधा कार्यान्वयनमा आएपछि अझ सजिलो हुन्छ होला ।

धेरै बैंकहरुमा सेवा लिनका लागि लाइनमा बस्नु नपर्ने भैसकेको छ । बैंकमा छिर्यो, चाहेको सेवा अनुसारको टोकन लियो, थपक्क कुर्सीमा बस्यो, अनि आफ्नो पालो आएपछि गएर सेवा लियो । आनन्दको काम भएको अचेल बैंकिङ सेवा लिन ।

अझ एटिएम मेसिनको उदय पछि त झन् चेक कारोबार गर्नु नपर्ने ग्राहक बैंक नै पस्नु पर्दैन । ठाउँ ठाउँमा एटिएम मेसिन ठड्याइएका कारण खासै लाइन पनि हुँदैन । फेरि केही अतिरिक्त शुल्क तिरे जुनसुकै बैंकको एटिएमबाट पनि सहज रुपमा पैसा निकाल्न सकिन्छ । इन्टरनेट र एसएमएस बैकिङ पनि बिस्तार हुँदै छ । यो नेपालको हालसम्मको बैंकिङको सबैभन्दा बिकसित रुप हो ।

तर, परिवर्तन स्थिर हुँदैंन । गतिशील हुन्छ । र, त्यही गतिशीलताको उपज हो एसबिआइ बैंकले दरबारमार्गमा यही जुलाई महिनाको ७ तारिखदेखि शुरु गरेको ‘इन टच’ आउटलेट । यो आउटलेट एसबिआइ बैंकको केशरमहल कार्यालय अन्तर्गत पर्छ ।

आउटलेटमा छिर्ने बित्तिकै ‘परि’ले समय अनुसार ‘गुड मर्निङ’, ‘गुड आफ्र्टनुन’ वा ‘गुड इभिनिङ’ भनेर नेपाली र अङग्रेजी दुवै भाषामा ग्राहकहरुलाई अभिवादन गर्छिन् ।

‘परि’ अन्य बैंक शाखामा जस्तो ‘कस्टुमर सर्भिस’मा खटिएकी कर्मचारी होइनन् । उनी ‘रोबोट’ हुन् । तर, काम भने कुनै छरितो मानिसले भन्दा कम गर्दिनन् ।

ग्राहकहरुलाई अभिवादन गर्नुका अलावा शाखामा उपलब्ध हुने सबै सेवाहरु र ती सेवा प्राप्त गर्ने तरिका बताउनु परिको प्रमुख काम हो । परिको छातीमा थपक्क राखिएको एउटा ‘टच स्क्रिन’को माध्यमबाट ग्राहकहरुले शाखामा पाइने सबै सेवा र प्राप्त गर्ने तरिका बारे जानकारी लिन सक्छन् ।

शाखामा एटिएमको माध्यमबाट पैसा निकाल्ने, ‘क्यास रिसाइक्लिङ’ मेसिनको सहायतामा पैसा बचत गर्ने र निकाल्ने, ‘एसएसके’ मेसिनमा चेक डिपोजिट गर्ने, मेसिनमै (२ प्रकारको बचत खाता) खोल्ने र खाता खोलेपछि तत्कालै डेबिट कार्ड प्रिन्टिङ मेसिनबाट आफ्नो नाम र फोटो सहितको कार्ड प्रिन्ट गर्न सकिने शाखाका कर्मचारी शिशिर पंगेनी बताउँछन् ।

 

 

‘एक पटकमा ५० हजार रुपैंयाँसम्म डिपोजिट गर्न मिल्छ,’ शिशिर बताउँछन् । एटिएम, नगद डिपोजिट र चेक डिपोजिट भने २४ सै घण्टा खुल्ला राख्ने योजना रहेछ बैंकको ।

‘अहिले भने सुरक्षाका कारण रातभरि खोल्न शुरु गरेका छैनौं,’ शिशिर भन्छन् ।

आउटलेटको एकापट्टिको भित्तोलाई ‘डिजिटल वाल’ भनिंदो रहेछ, जहाँ ठूलो एलइडी स्क्रिन राखिएको छ । त्यहाँ ग्राहकहरुले एसबिआइ बैंकको सबै वित्तीय सेवाका बारेमा जानकारी लिन सक्छन् । साथै, आफ्नो वित्तीय बिवरण हालेर आफू कुन र कति ऋणका लागि ‘एलिजिबल’ छु भनेर ग्राहकले आफैं जान्न सकिने प्रणाली पनि छ ।

‘बैंक खाता खोल्नका लागि चाहिने आवश्यक कागजात र ग्राहकको सही भने हामी पनि एकपटक भेरिफाइ गर्छौं’ शाखा इन्चार्ज सम्झना शर्माले क्लिकमाण्डुसँगको कुराकानीमा बताइन् ।

यो आउटलेटमा जम्मा दुई जना मात्र कर्मचारी छन् । तर, दैनिक ५ वटा भन्दा बढि नयाँ खाता खोलिरहेको छ, यो आउटलेटले । यो भनेको नेपालको कुनैपनि बैंकको मध्यमस्तरको शाखाले दैनिक रुपमा खोल्ने नयाँ खाताको संख्याको हाराहारी हो ।

यसरी तीब्र गतिमा प्रबिधिको प्रयोग बढ्दै गए कतै भविष्यमा मानिसहरुको काम मेसिनहरुले गर्ने र मानिसहरुको भूमिका नै संकुचित हुने र रोजगारी पनि गुम्ने त हुँदैंन ?

तर, शिशिरलाई भने त्यस्तो लाग्दैन । ‘प्रबिधिको बिकाससँगै संस्थाको ब्यवसायिक दायरा पनि फराकिलो हुन्छ । प्रबिधिको प्रयोगले मानिसको काम सहज गर्ने मात्र हो । प्रबिधिको प्रयोगले मानिसको भूमिका नै संकुचित गर्छ जस्तो मलाई लाग्दैन,’ उनी भन्छन् ।

अष्ट्रेलिया बस्ने एक नेपालीको भने फरक अनुभव छ । उनी बस्ने घर नजिकै एउटा अन्तराष्ट्रिय सुपरमार्केटको चेन थियो, जहाँ सैयौं कर्मचारीहरु काम गर्थे । सामान भर्ने, सरसफाई गर्ने काउन्टरमा बस्नेलगायत काम गर्न धेरै मानिसहरु खटिएका हुन्थे ।

हेर्दाहेर्दै सुपरमार्केटले ‘सेल्फ चेक आउट’ प्रबिधि ल्यायो । यो प्रबिधिको प्रयोगपछि काउन्टरमा बस्ने कर्मचारीहरुको आवश्यकता नै भएन । ग्राहकहरुले आफैं सामान ‘स्क्यान’ गर्ने र पैसा पनि मेसिनमै तिर्न सक्ने भए । यसले धेरै काउन्टरमा बस्ने कर्मचारीहरुको रोजगारी गुमेको थियो ।

तर, प्रबिधिको प्रयोगसँगै सुपरमार्केटको बढेको उत्पादकत्व, बढाएको नाफा र तिरेको कर फेरि घुम्दै फिर्दै रोजगारी गुमाउनेकै लागि प्रयोग भइरहेको पनि हुनसक्छ । वा, ती प्रबिधि बनाउने क्षेत्रमा नयाँ रोजगारी सृजना भइरहेका पनि हुन सक्छन् ।

प्रबिधिले कुनै पनि संस्थाको उत्पादकत्व बढाउन धेरै मद्दत पुर्याउँछ । बितरण प्रणाली चुस्त भएको समाजमा बढेको उत्पादकत्व कुनै न कुनै रुपमा फेरि फर्किएर सामान्य मानिसको हित मै आउँछ ।

तर, राज्यको बितरण प्रणाली चुस्त नभएको समाजमा प्रबिधिको प्रयोगले बढाएको उत्पादकत्व फेरि सिमित बर्गमै गएर जम्मा हुने जोखिम पनि रहन सक्छ । यस्तो हुन गएमा बिभिन्न खाले सामाजिक–राजनीतिक बिद्रोह जन्मिन सक्छ ।

यो एउटा अर्थ–राजनीतिक दृष्टिकोण मात्र हो । आबिष्कार, नयाँ प्रबिधिको प्रयोग, त्यसले मानव जीवनमा ल्याउने सहजता र उत्पादकत्व बृद्धि जस्ता लाभलाई कम आँक्न सकिदैंन । समाजमा बिद्यमान असमानता हटाउन प्रबिधिको भूमिकालाई नजरअन्दाज गर्न सकिदैंन । तर, प्रबिधिको प्रयोग गर्दा त्यसको आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक पाटोको भने हेक्का भने राख्नुपर्छ ।


क्लिकमान्डु