मुग्लिन-नारायणघाटको पहिरोले बगायो महाबौद्धको ब्यापार




काठमाडौं । नारायणघाट–मुग्लिन सडकखण्ड राजधानीको लाईफ लाइनको रुपमा छ । सो सडकखण्डको भौगोलिक बनोटका कारण बर्षातको समयमा सडक यात्रुले यात्राका क्रममा निकै समस्याको सामना गर्ने गरेका छन् ।

लाइफ लाइनको रुपमा रहेको सडकको चौडाइ सानो र भौगोलिक बनोटका कारण बर्षातको समयमा खस्ने पहिरोले सडक यात्रा जोखिम पूर्ण हुने गरेको छ ।

विगत २७ महिनादेखि सरकारले सो सडकको चौडाइ बढाउने काम गरिरहेको छ । सडक मर्मतका लागि सरकारले रातको समयमा सवारी आवतजावतमा रोक लगाएर निर्माण कार्य गरिरहेको छ । दीर्घकालिन रुपमा सडकको चौडाई बढेसँगै आम सडक यात्रुले सहज र सुरक्षित रुपमा सडकको यात्रा गर्न सक्ने वातावरण सिर्जना हुने अपेक्षा गर्न सकिन्छ ।

सो सडक चौडा भएपछि यात्रा सहज र सुरक्षित हुने अपेक्षा गर्न सकिन्छ । तर, बर्तमानमा भने सोही सडकले दिनुसम्मको पीडा दिएको छ ।

यस्तो पीडा सो सडकमार्ग प्रयोग गर्ने यात्रुमा मात्रै सिमित छैन । सडकमा आउने समस्याका कारण काठमाडौंका कपडा होलसेल ब्यापारी पनि मारमा परेका छन् । अघिल्लो बर्षको तुलनामा यस बर्ष कपडाको ब्यापारमा कमी आएको ब्यापारीहरुको गुनासो छ ।

काठमाडौंको महाबौधमा संचालित सिन्धुपाल्चोक इन्टरनेसनलका संचालक कुशल उप्रेती अघिल्लो बर्षको तुलनामा यस बर्ष कपडाको बिक्रीमा कमी आएको बताउँछन् ।

‘सडकको अवस्था राम्रो छैन, उपत्यका बाहिरका व्यापारीलाई काठमाडौं आउन निकै समस्या छ, कपडा किन्ने ब्यापारी नआएपछि हाम्रो व्यापार चौपट भएको छ,’ उप्रेतीले क्लिमाण्डूसँग भने ।

अघिल्ला बर्ष ब्यापार भएन भन्दा पनि दैनिक ५० देखि ६० हजार रुपैयाँको हुन्थ्यो । अहिले दिनको १० देखि १५ हजार रुपैयाँको ब्यापार गर्न पनि धौधौ हुने गरेको उनी बताउँछन् ।

महाबौधकै केएक्स विजनेसका संचालक सुन्दर श्रेष्ठको भनाई पनि उप्रेतीको जस्तै छ ।

‘अहिले बोहोनी गर्न पनि मुस्किल छ, बोहोनी भएपनि २, ३ दिन बिराएर हुने गरेको छ, २, ३ दिनको ग्यापमा आउने ब्यापारी पनि उपत्यका बाहिरका हुँदैनन्,’ श्रेष्ठले भने ।

महाबौधकै अर्का होलसेल ब्यापारी भट्टराई एण्ड सनका संचालक सुमन भट्टराई ब्यापार नभएर घरभाडा र स्टाफको तलब दिनसमेत समस्या भएको बताउँछन् ।

‘पहिला ब्यापार भएन भन्दा पनि दैनिक ३० देखि ४० हजार रुपैयाँको हुन्थ्यो, अहिले महिनाको ५ देखि ६ लाखको ब्यापार गर्न पनि मुस्किल छ,’ भट्टराईले भने ।

 

होलसेल ब्यापारीहरुका अनुसार उपत्यका बाहिरबाट खुद्रा ब्यापारीहरु बिहान काठमाडौं आइपुग्ने गरी आउथे र दिनभर सामान किनेर राती फर्किन्थे । अहिले सडकको अवस्था राम्रो नभएकाले ब्यापारीहरुलाई काठमाडौं आएर सामान किनेर घर फर्कन निकै समस्या हुने गरेको छ ।

नेपालको यातायात मार्ग भनेको सडक र हवाई हो । एक तथ्याङक अनुसार नेपालका ९० प्रतिशत यातायातको हिस्सा सडकले ओगटेको छ । काठमाडौं उपत्यकाबाट बाहिरने प्रमुख २ सडक बिपी राजमार्ग र नारायणघाट मुग्लिन सडकखण्ड आजकल रातको समयमा पूर्णरुपमा बन्द हुने गरेको छ ।

भौगोलिक अवस्थाका कारण बर्षातको समयमा सडक पहिरोको चपेटामा पर्ने गरेको छ । अघिल्ला बर्ष पनि बर्षातको समयमा व्यापार कम हुने ब्यापारीहरुले अनुभव सुनाए । तर, अघिल्ला बर्षको तुलनामा यस बर्षको ब्यापार चौपट भएको उनीहरु बताउँछन् ।

अन्य मुलुलकबाट नेपालमा भित्रिने सामानमध्ये अधिकतम सामान सडक यातायातबाट ढुवानी हुने गरेका छन् । नेपालमा उत्पादन भएका वस्तुहरु पनि सडकमार्गबाटै देश बाहिर जाने गरेका छन् । सडक यातायातको पहुँच नपुगेको अवस्थामा मात्र हवाई यातायातबाट सामान ढुवानी हुने गरेको छ । सडकमा समस्या आउँदा नेपालको अर्थ ब्यवसायमा पनि समस्या आउने गरेको छ ।


क्लिकमान्डु