टेलिकमको अफरः डाटाबाट इन्टरनेट चलाउन झन् सस्तो, फोन उठाउँदा पनि बोनस पाइने



काठमाडौं । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । यो अफरमा विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिने छ ।

जीएसएम÷सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् ।

यो अफर भोलि अर्थात् असार १६ गतेदेखि लागू हुनेछ । र, नेपाल टेलिकमका ग्राहकले ९० दिनसम्म यो अफर प्राप्त गर्न सक्नेछन् । यो अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।

अफर अन्तर्गत अब १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक १ हजार रुपैयाँमा उपलब्ध हुनेछ । पहिले मासिक १ हजार १७ रुपैयाँमा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो ।

त्यसैगरी भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि १९ सय ८० रुपैयाँ शुल्क लिइएकोमा अब १५ जीबी डाटा ३ सय रुपैयाँमै मै उपलब्ध हुनेछ ।
त्यसैगरी २५ जीबी डाटाको ५ सय रुपैयाँ र ४० जीबीको डाटाको मूल्य ७ सय रुपैयाँमात्र तोकिएको छ । यी डाटाको गति १ एमबीपीएससम्म हुनेछ ।

त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक ५ सय रुपैयाँ भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक २ सय रुपैयाँ र अनलिमिटेड डाटाको लागि ३ सय रुपैयाँमात्र दर्ता शुल्क तोकिएको छ ।

यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने छ । सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने छ ।


पुष्प दुलाल