अकबरे खुर्सानीबाट तीन लाख आम्दानी



पाँचथर। फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गरे । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उनले कृषि पेशा नै अगाँले। परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि उनले अकबरे खुर्सानी रोप्न थाले ।

अहिले नेम्बाङले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गरी वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उत्पादन भएको खुर्सानी राँके र घुर्विसे बजारमा बिक्री गर्छन । उनको खुर्सानी  बिक्रीका लागि झापा, सुनसरी तथा काठमाडौँसम्म पुग्छ ।

अकबरे खुर्सानीसँगै नेम्बाङले व्यावसायिक रुपमा सुन्तला र अलैँची खेती समेत गर्दै आएका छन् । अलैँची खेतीबाट उहाँले वार्षिक पाँच लाख रुपैयाँसम्म तथा सुन्तला खेतीबाट वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । नेम्बाङ राष्ट्रपति कृषक पुरस्कार २०७२ बाट समेत सम्मानित भइसकेका छन ।

‘जोश, जाँगर र हिम्मत गरे पैसा कमाउन विदेश गइरहनु पर्दैन,’ उनले भने । गाउँमै २० रोपनी जग्गा किनेर अहिले उनले व्यावसायिक रुपमा अकबरे खेती र अलैँची खेती गर्दै आएका छन् ।


क्लिकमान्डु