खातामा पैसा जम्मा गर्न बैंक जाँदै हुनुहुन्छ ? परिचयपत्र बोक्न नभुल्नु होला



काठमाडौं। बैंकमा रकम जम्मा गर्न जाँदा अनिवार्यरुपमा आफ्नो परिचय खुल्ने परिचयपत्र बोक्नुपर्ने भएको छ । सम्पति शुद्धीकरण तथा आतङ्कबादी क्रियाकलपामा वित्तीय लगानी हुनबाट रोक्न राष्ट्र बैंकले साउन १ गतेदेखि यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले गरेको यो व्यवस्थासँगै अरुको बैंक खातामा १ रुपैयाँ जम्मा गर्न पनि आफ्नो परिचयपत्र खुलाउनु पर्ने हुन्छ । तपाईंले परिचयपत्र बोक्न विर्सनुभयो भने रकम जम्मा गर्न पाउनुहुन्न ।

‘ग्राहकबाहेक अन्य कुनै व्यक्तिले ग्राहकको खातामा नगदै जम्मा गर्न आएमा रकम जम्मा गर्ने व्यक्तिको पहिचान हुनसक्ने विवरण तथा कागजात लिनुका साथै नगद जम्मा गर्नुको प्रयोजनसमेत खुलाउनुपर्ने छ,’ राष्ट्र बैंकद्वारा जारी परिपत्रमा भनिएको छ ।

तर, खातावाल स्वयंले आफ्नो खातामा जम्मा गर्न लागेको हो भने मात्रै उसले बैंकमा परिचयपत्र नबुझाउँदा पनि हुन्छ ।

आतङ्कबादी गतिविधिमा आर्थिक क्रियाकलाप नहोस् भनेर राष्ट्र बैंकले बैंकहरुमा हुने ससानो कारोबारको समेत स्रोत खुलाउनु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

विगतमा १० लाख रुपैयाँभन्दा माथिको रकम जम्मा गर्दा मात्रै परिचयपत्र खोजिन्थ्यो। तर ससानो कारोबारमार्फत पनि सम्पत्ति सुद्धिकरण हुनसक्ने विश्लेषण गर्दै राष्ट्र बैंकले परिचयपत्र खोल्नुपर्ने व्यवस्था गरेको हो ।

पहिचान खुलेका र खुलाउन सक्ने ग्राहकले मात्रै बैंकिङ कारोबार गरुन् र बैंकिङ कारोबारमार्फत् आतंकबारी गतिविधिमा वित्तीय लगानी नहोस् भन्ने उद्देश्यले यस्तो कडाई गरिएको पण्डितले जानकारी दिए ।


पुष्प दुलाल