यी हुन् सस्तोमा घडेरी पाइने काठमाडौं उपत्यकाका स्थानहरु




काठमाडौं । काठमाडौं उपत्यकामा जग्गाको मूल्य आकाशिएको छ । अघिल्लो वर्ष आनाको १० देखि १२ लाख रुपैयाँसम्ममा पाइने जग्गाको मुल्य अहिले २० लाख रुपैयाँसम्म पुगिसकेको छ ।

सरकारले स्थानीय तहमा अधिकार दिएर संघीयता लागू गरेपनि काठमाडौं उपत्यकामा घर बनाउन र आँउन चाहनेको संख्यामा कमी आएको छैन । सरकारको नीति अहिले काठमाडौं उपत्यकाको जग्गा खरिदबिक्रीलाई निरुत्साहित गर्ने खालको छ ।

घरजग्गाबाट आउने राजस्वमा कमी आएपनि मुल्य भने सो अनुपातमा घटेको छैन । घरजग्गा व्यवसायीसँगको कुराकानीको आधारमा काठमाडौं उपत्यकाको सस्तो जग्गाको बारेमा केही जानकारी दिने प्रयास गरेका छौ ।

यी क्षेत्रमा आनाको १० लाखसम्म जग्गा पाइने गरेको छ । सुविधाको दृष्टिकोणले यी क्षेत्र उपयोगी हुन सक्छन् ।

थानकोट क्षेत्र
काठमाडौं भित्रने प्रमुख नाका थानकोट क्षेत्रफलको हिसाबले ठूलो नै छ । थानकोटका भित्री इलाकामा अहिले पनि आनाको ५ देखि १० लाख रुपैयाँसम्ममा जग्गा पाउन सकिने ठाउँ रहेका छन् । यद्यपि यस्तो जग्गा भने भिरालो क्षेत्रमा बढी पाइन्छ । मुख्य रोडको आसपास भने जग्गाको भाउँ अत्याधिक महंगो छ ।

दक्षिणकाली क्षेत्र
काठमाडौं भित्रने अर्को नाका दक्षिणकाली क्षेत्र हो । काठमाडौंमा आनाको १० लाखसम्म जग्गा खोज्नेको लागि दक्षिणकाली क्षेत्र अर्को विकल्प हुन सक्छ । काठमाडौंदेखि हेटौडा जाने बाटो सरकारले विस्तार गर्न थालेको छ । अहिले आनाको १० लाख रुपैयाँको हाराहारीमा दक्षिणकाली क्षेत्रमा जग्गा पाउन सकिन्छ ।

रामकोट
काठमाडौंको सितापाइलाबाट जान सकिने रामकोट पनि सस्तो जग्गा चाहनेको लागि उपयुक्त विकल्प हुनसक्छ । कतिपय स्थानमा आनाको ७ देखि ८ लाख रुपैयाँसम्ममा पनि जग्गा पाउन सकिने ब्यवसायीहरु बताउँछन् ।

साखू
सस्तो जग्गाको लागि काठमाडौं उपत्यकाको अर्को विकल्प साखू पनि हो । अहिले चाबहिलदेखि साखुसम्म जाने बाटो निर्माण भइरहेको छ । यस आधारले सो क्षेत्रमा अहिले जग्गा १० लाख रुपैयाँ हाराहारीमा पाइन सकिने धेरैवटा क्षेत्र छन् ।

काठमाडौं उपत्यकामा ललितपुरका लुभू, लामाटार, धापाखेल लगायतका क्षेत्र पनि सस्तो जग्गाको लागि उपयुक्त बन्न सक्छन् । यस्तै भत्तपुरको लागि साँगा तथा सिपाडोल लगायतका क्षेत्रमा जग्गा पाइन सकिन्छ । उपत्यकाकै कतिपय स्थानमा ५ लाख रुपैयाँ आनामै जग्गा पाउन सकिएपनि त्यो भने सुविधाको दृष्टिकोणले उपयुक्त नहुँन सक्छ ।


क्लिकमान्डु