१० अर्ब लगानीमा एक दर्जन ४ तारे होटल खुल्दै (सूचीसहित)



काठमाडौं । पछिल्लो समय होटल खोल्ने होड चलिरहेको छ । पाँच तारे होटल मात्रै होइन एक दर्जन चारतारे होटलहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । केही होटल भने सञ्चालनमा आइसकेका छन् ।

यसवर्षमात्र ४ वटा चारतारे होटल निर्माण सम्पन्न भएर सञ्चालनमा समेत आइसकेका छन् । एक दर्जन चारतारे होटल सन् २०१९ भित्र सञ्चालनमा आइसकेका हुनेछन् ।

अघिल्लो महिना मात्र एमएस ग्रुपले काठमाडौंको ठमेलमा मेरियट होटल सञ्चालनमा ल्याएको छ । १ सय १० वटा रुम रहेको होटलमा झन्डै १ अर्ब रुपैयाँ लगानी गरेको होटल चारतारे सेवा सुविधाको हो ।
त्यस्तैगरी विराटनगरमा सेञ्चुरी ग्रुपले लगानी गरेको होटल ह्यारिसन चारतारे सेवा सुविधाको हो । जुन यसैवर्ष सञ्चालनमा आएको हो ।

५० करोड लगानी रहेको उक्त होटल ५० वटा रुम रहेका छन् । ‘निर्माणाधीन अवस्थामा रहेका १० वटा पाँचतारे होटल सन् २०१९ भित्रमा सञ्चालनमा आउँदै छन,’ हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्यले भने । चार तारे पनि दर्जनौ रहेको शाक्य बताउँछन् ।

पोखरामा रुपाकोटमा ‘रुपाकोट रिसोट’ सञ्चालनमा आएको छ । चारतारे सेवा सुविधा रहेको उक्त रिसोर्ट ३० करोड लगानी १०० रुम सञ्चालनमा ल्याइएको छ । त्यस्तैगरी काठमाडौंमो लैनचौरमा होटल एम्बासडर पनि चार तारे सेवा सुविधमा तयार भएको छ । १ सय वटा कोठा रहेको होटल एम्बासडरमा पनि झन्डै १ अर्ब रुपैयाँ लगानी गरिएको छ ।

कहाँ-कहाँ बन्दै छन् चारतारे होटल ?

१ एमएस ग्रुप (मेरियट होटल) , ठमेल, काठमाडौं – चारतारे , ११० कोठा, १ अर्ब लगानी (सञ्चालनमा)

२ होटल ह्यारिसन (सेञ्चुरी ग्रुप), विराटनगर – चारतारे, ५० करोड लगानी, ५० कोठा (सञ्चालनमा )

३ सेन्टर प्लाजा, कोहलपुर, बाँके – चारतारे, ३० करोड लगानी, ८० कोठा (निर्माणकार्य जारी)

४ रुपाकोट रिसोर्ट, रुपाकोट – चारतारे, ३० करोड लगानी, १०० कोठा (सञ्चालनमा)

५ होटल ली शेर्पा, लैनचौर, काठमाडौं – चारतारे, २ अर्ब लगानी, १२० कोठा (निर्माणकार्य जारी)

६ होटल कृष्णा, नेपालगञ्ज, बाँके – चारतारे, ५० करोड लगानी, ८० कोठा (निर्माणकार्य जारी)

७ सोल्टी होटल, बाँके – चारतारे, ४० करोड लगानी (निर्माणकार्य जारी)

८ जिंक जर्नी, झम्सीखेल, ललितपुर – चारतारे, १ अर्ब लगानी, १०० कोठा (घोषणा भएको)

९ ल्यान्डमार्क बिजनेश होटल, नरायणगढ, चितवन – चारतारे, ४८ कोठा (निर्माणकार्य जारी)

१० लक्जरी भिल्ला (अरुण चौधरी), बूढानीलकण्ठ, काठमाडौं – ५० कोठा (घोषणा भएको)

११ बिजनेश होटल (अरुण चौधरी), त्रिपुरेश्वर, काठमाडौं – १ अर्ब लगानी, १२५ कोठा (घोषणा भएको )

१२ होटल एम्बासडर लैनचौर चारतारे होटल– १ अर्ब लगानी १०० कोठा सञ्चालनमा )

हाल कति छन् होटल ?

देशभरमा अहिले २ वटा चारतारे होटल सञ्चालनमा छन् भने तिनतारे १२ वटा छन् । २ तारे होटलहरु २२, एकतारे १८ र तारा रहित १ सय ६५ वटा होटल सञ्चालनमा छन् । पर्यटकीय स्तरका ६ सय २५ वटा होटल रहेका छन् भने २ सय २६ वटा होमस्टे रहेको छ ।

आगामी दुई वर्षभित्र देशमा पाँचतारे होटलको संख्या दोब्बर हुदैं छ । हाल १० वटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् भने १० वटा थपिन लागेका छन् । होटल क्षेत्रमा ३३ अर्ब रुपैयाँ बराबरको लगानी भइरहेको छ । ४ हजार रुम थपिने पक्का छ ।

‘अहिलेनै होटलहरुले १६ लाख पर्यटक धान्न सक्ने अवस्थामा छन् नयाँ थपिएपछि २० लाख पर्यटक धान्न सक्ने अवस्थामा पुग्नेछन,’ पूर्व अध्यक्ष शाक्यले भने ।

होटलमा यसरी लगानी बढ्दै गए पनि विदेशी पर्यटक आगमन भने खासै उत्साहजनक रुपमा बढेको छैन । गत वर्ष मुस्किलले साँढे ७ लाख पर्यटक नेपाल भ्रमणमा आएका थिए । सरकारले सन् २०२० सम्ममा वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएता पनि पुरा नहुने पक्का भइसकेको छ ।


क्लिकमान्डु