कपन र कीर्तिपुर एक्सचेन्जका टेलिफोन लाइनलाई नयाँ प्रविधिमा



काठमाडौं । नेपाल टेलिकमले कपन र कीर्तिपुर एक्सचेन्जका पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आईपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेको छ । कम्पनीले गत साउन १ गते आइतबार कपन एक्सचेन्ज र साउन ४ गते बुधबार कीर्तिपुर एक्सचेन्जमा सो प्रतिस्थापन कार्य सम्पन्न गरेको हो ।

कीर्तिपुर एक्सचेन्जका ५ हजार ८ सय २३ लाइन र कपन एक्सचेन्जका ६ हजार ५ सय ३३ लाइन अब नयाँ प्रविधिमा प्रतिस्थापन भएका छन् । आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेपछि ल्यान्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुने टेलिकमले जानकारी दियो ।

सो प्रविधि अन्तर्गतका सबै लाइनबाट अब ग्राहकको मागअनुरुप एडीएसएल लाइन उपलब्ध गराउन सम्भव हुनुका साथै भविष्यमा ल्यान्डलाइन सेवामा आधारित अन्य आधुनिक सेवा जस्तै: आईपीटीभी, भिडियो अन डिमान्ड आदि सेवा समेत प्रदान गर्न मद्दत पुग्ने टेलिकमको दाबी छ ।

यसअघि टेलिकमले ग्वार्को एक्सचेन्जका सम्पूर्ण ४ हजार २ सय ४६ लाइन टेलिफोन नयाँ प्रविधिमा प्रतिस्थापन गरेको थियो ।

आगामी दुई महिना भित्रमा मुलुकका एक लाख ३४ हजार पीएसटीएन टेलिफोन लाइनका उपकरणहरुलाई आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गर्ने टेलिकमको योजना छ ।

आगामी आर्थिक वर्ष भित्रमा कुल चार लाख ल्यान्डलाइन सेवालाई यस प्रविधिबाट प्रतिस्थापन गरिसक्ने कार्यक्रम रहेको छ । साथै त्यसपछि बाँकी ल्यान्डलाइन सेवालाई पनि क्रमशः आइपी बेस्ड प्रविधिमा रुपान्तरण गर्दै लैजाने टेलिकमको लक्ष्य रहेको छ ।


क्लिकमान्डु