दृष्टिविहीन भएपनि अरुको भविष्य देख्ने ज्योतिष



मोरङ । दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन् भन्दा सायदै पत्याउन सकिएला । तर, मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो ।

सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आउनुभएका महाप्रसादको कोठामा शनिबार र मङ्गलबार भविष्य हेर्न आउनेको भीड नै लाग्नेगर्छ ।

‘मैले पढेको होइन । अन्तरध्यानबाट देख्छु र भन्छु । कसको कति मिलेको छ, मलाई थाहा छैन, तर मैले गरेको भविष्यवाणी नमिलेको भए यो शहरबाट मलाई खेदाइ सक्थे होला नि,’ जन्मँदै दृष्टिविहीन जन्मनुभएका दाहाल भन्छन ।

‘हेराउन आउँदाभन्दा पछि हजुरले जे भन्नुभएको थियो ठ्याक्कै त्यस्तै भयो भन्दै खुशीका साथ उपहार लिएर आउने धेरै रहेका छन्,’ उनले भने  ।

जसले विश्वास गर्छ उनीहरू नयाँ ग्राहक लिएर दाहालकामा पुग्ने गरेका छन् ।  त्यसो त महाप्रसाद मात्र होइन उनकी अर्धाङ्गिनी मनकुमारी पनि दृष्टिविहीन नै छिन ।

महाप्रसादले पहिले सबलांग महिलासँग बिहे गरेका थिए, तर एउटा छोरो जन्मिएपछि श्रीमती अर्कैसँग गइन् । अहिले उनका जेठीपट्टिका छोरा वैदेशिक रोजगारमा साउदी अरबमा छन् ।

जेठी श्रीमतीले छोडेपछि महाप्रसाद सहारा खोजिरहेका थिए। त्यही क्रममा २०६६ सालमा मोरङ नेत्रहीन संघद्वारा आयोजित तीन महिने तालीममा मनकुमारीसँग भेट भयो । तालीमकै क्रममा महाप्रसादले मनकुमारीसँग हात मागे । तर, त्यसबेला २६ वर्षकी मनकुमारीले उनको प्रस्ताव स्वीकारिनन् ।

तालीम सकिएपछि मनकुमारीले घरमै बुबा आमासँग माग्न आउन आग्रह गरीन। महाप्रसाद पनि के कम, भोलिपल्ट नै झापाको धाइजन मोडमा रहेको मनकुमारीको घर पुगे । २०६६ फागुन १ गते वैवाहिक जीवन सुरु गरेका नेत्रहीन दाहाल दम्पती अहिले अरु सामान्य मानिस झैँ घर व्यवहार चलाएर बसिरहेका छन् ।

महाप्रसाद दैनिक कमाएर ल्याउँछन्, मनकुमारी खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, इष्टमित्र राख्ने सबै काम आफैँ भ्याउँछिन ।

‘ईश्वरले जस्तो गरिखानु भने त्यस्तै गरिरहेको छु,’ दाहाल भन्छन् ।

आफन्त इष्टमित्र भएपनि कसैले केही सहयोग नगरेको उनीहरूको भनाइ छ । उनीहरूका आफन्त नभएका होइनन् । तर कहिलेकाहीँ आउनेबाहेक केही भरोसा छैन ।

सरकारीस्तरबाट उनीहरूले प्रतिव्यक्ति  मासिक ६/६ सय रुपैयाँ पाउँछन् । तर त्यो पैसाले घर भाडा तिर्न पनि पुग्दैन ।

‘मासिक एक हजार ५०० रुपैयाँ घर भाडा तिर्नुपर्छ,’ उनले बताए ।

उनीहरूसँगै डेरा गरी बस्ने विमला चौधरी र अनिता साहकाअनुसार दाहालसँग ज्योतिष हेराउन आउनेले खुशीका साथ दक्षिणा गर्छन् । दैनिक दुई/तीन जना आउने गरेको उनीहरू बताउँछन ।

‘हामी तीन वर्षदेखि यही घरमा सँगै बस्छौँ । दिनमा दुई/तीन मान्छे नआएको दिन नै हुँदैन, शनिबार र मङ्गलबार त पालो कुर्नुपर्छ,’ विमलाले भनिन्  ।


क्लिकमान्डु