काम गर्न नसकेपछि टेलिकमको ५ अर्बको बिजनेस गुम्दै




काठमाडौं । नेपाल टेलिकमले नेपाल दुरसंचार प्राधिकरणसँगको सम्झौता अनुसार ब्रोडब्यान्ड बिस्तार नगरेपछि प्राधिकरणले सम्झौता रद्द गर्ने भएको छ ।

सम्झौता भएको ९ महिना वितिसके पनि सम्झौता अनुसारको काम गर्न सुरु नै नगरेको भन्दै प्राधिकरण सम्झौता रद्दको प्रक्रियामा लागेको हो ।

टेलिकमले सम्झौता भएको लामो समय बितेपनि कुनै काम नगरेको र राज्यको नीति नै असफल हुने जोखिम बढेकोले सम्झौता रद्द गर्नेसम्मको कारबाही गर्न लागिएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए ।

‘२ वर्ष भित्रमा ब्रोडब्याण्ड विस्तार गरिसक्नु पर्ने सम्झौता हो, ९ महिना वित्दासम्म काम भएको छैन, टेलिकमले काम नगरिदिदा राज्यको नीति नै असफल हुन लाग्यो, त्यसैले चाडो काम सुरु गर्ने भए गर, नगर्ने भए सम्झौता रद्द गरेर काम गर्न सक्ने कम्पनीलाई जिम्मा दिन्छौं भनेर पत्र पठाएका छौं,’ अध्यक्ष झाले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणले २०७३ को असोज १२ गते मध्यपहाडी राजमार्ग हुँदै प्रदेश नम्बर १, २ र ३ का ३२ जिल्लाको केन्द्रसम्म ब्रोडब्यान्ड विस्तार गर्ने सम्झौता टेलिकमसँग गरेको थियो ।

प्राधिकरणमा जम्मा भएको ग्रामीण दुरसंचार कोषको रकमबाट ब्रोडब्यान्ड विस्तार गर्ने सेवा प्रदायकलाई अनुदान दिने नीति अनुसार टेलिकमसँग सम्झौता भएको हो । सम्झौता अनुसार टेलिकमले सोधभर्ना पाउने गरी बढीमा ४ अर्ब ८८ करोड रुपैयाँसम्म अनुदान प्राप्त गर्ने थियो ।

तर, टेलिकमले अहिलेसम्म पनि गर्नुपर्ने टेण्डरका प्रक्रियाहरु नगरेकोले एक साताभित्रमा स्पष्टीकरण बुझाउन पत्राचार गरिएको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार प्राधिकरणले टेलिकमलाई पत्र पठाएको करिब ५ दिन भयो । टेलिकमले पत्र पाएको मितिले ७ दिनभित्रमा अहिलेसम्मको प्रगति विवरण बुझाउनु पर्ने र ३० दिनभित्रमा सम्पूर्ण टेन्डर गरिसक्नु पर्नेछ । यो समयभित्रमा टेलिकमले काम अगाडी नबढाएर सम्झौता रद्द हुनेछ । र, यो बिषयमा अब कसरी जाने भनेर प्राधिकरण र टेलिकमबीच छलफल भइरहेको छ ।


क्लिकमान्डु