नेपाल टेलिकमद्धारा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवा शुरु



काठमाडौं । नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवा आइतवारदेखि शुरु भएको छ ।

नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुरु गरेको हो ।

उपाध्यायले नेपाल टेलिकम र संगीत उत्पादक कम्पनी म्युजिक नेपाल मिलेर नेपाली संगीतलाई केन्द्रित गरी मोबाइल एप उपलब्ध गराउन सफल भएकोमा खुशी ब्यक्त गरे । उनले मोबाइल प्रयोगकर्ताका बीचमा यो एप लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने बताए ।

म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले नेपाल टेलिकमका करिब १ करोड ५० लाख उपभोक्तामार्फत देशभर नेपाली संगीत उपलब्ध गराउन पाएकोमा खुशी ब्यक्त गरे । उनले यो सहकार्यबाट संगीत क्षेत्रको आधिकारिक एप्पको रुपमा म्युजिक नेपाल एपले विश्वास जित्ने आशा व्यक्त गरे ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले म्युजिक नेपाल एपमार्फत संगीत प्रेमी र कलाकारलाई नेपाली संगीत प्रवद्र्धनका लागि थप प्रोत्साहित गर्न भूमिका खेल्नुका साथै नेपाल टेलिकमको व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने बताइन् ।

म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीतको आनन्द लिन सक्नेछन् । ̒म्युजिक नेपाल̓ मोबाइल एप डाउनलोड गरी सो मार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौविसै घण्टा सुन्न सकिने छ । त्यति मात्र नभई आफ्नो रुची अनुसारका गीतहरु छान्न, सूची बनाउन र संग्रहित गर्न पनि सकिने छ । आफूले रुचाएका गीतहरु फेसबुकमार्फत साथीभाईहरुसँग सेयर गर्न पनि सकिने टेलिकमले जानकारी दियो ।

यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध गराईएको छ भने पहिलो एक महिनाको लागि निशुल्क उपलब्ध गराइने टेलिकमले उल्लेख गरेको छ ।

हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध छ भने छिट्टै आइओएसमा समेत उपलब्ध गराइने बताईएको छ ।

सो ‘म्युजिक नेपाल एप’ यहि मंगलबारदेखि मात्रै संचालनमा आउने टेलिकमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु