वायुसेवा निगमको टिकट अब अनलाइनबाटै किन्न सकिने



काठमाडौं । नेपाल वायुसेवा निगम आजदेखि अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । अव निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न सक्नेछन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष शंकर प्रसाद अधिकारीले एक समारोहका बीच अनलाईन बुकिङ्ग सेवा शुरु गरे । उनले व्यवस्थापन सुधारको एउटा अंग सूचना प्रविधिको पूर्ण एवं उपयोगी प्रयोग पनि हो भन्दै त्यसतर्फ थप प्रयास आवश्यक भएको बताए ।

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ्ग हुने र नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ्ग प्रणालीमा आवद्ध गरिने निगमले जानकारी दिएको छ । यसका लागि केही समय लाग्ने बताईएको छ ।

सो अवसरमा महाप्रवन्धक सुगतरत्न कंसाकारले निगम नयाँ नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजना सहित अघि बढेको बताए । उनले आफ्ना ग्राहकहरुलाई अनलाइन बुकिङ्गमा समावेश गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे ।

इन्फर्मेसन टेक्नोलोजी डिभिजनका उपनिर्देशक अमृत मान श्रेष्ठले निगम अत्याधुनिक प्रविधिलाई सेवामा लगाई उच्चस्तरीय सेवा दिन सक्षम हुँदै गएको बताए । आधिकारीक ट्रेड युनियनका महासचिव हिम लम्सालले विमानहरु पूर्ण क्षमतामा उडाउन आग्रह गरे ।

भारतको वर्ड इन्फर्मेसन सिष्टम तथा थाइल्याण्डको टुसीपिसी कम्पनीको प्राविधिक सहभागितामा इन्टरनेट बुकिङ्गको थालनी गरिएको निगमले जनाएको छ ।


क्लिकमान्डु