कर्मचारीलाई चुनाब लाग्दा खानी उत्खनको प्रक्रिया रोकियो



काठमाडौं । स्थानीय तहको निर्वाचनमा परिवेक्षकका रुपमा खानी विभागका कर्मचारी सहभागि भएकाले खानी उत्खन तथा अन्वेषण प्रक्रिया लम्बिन पुगेको छ ।

खानी तथा भूगर्भ बिभागले नेपालका विभिन्न स्थानमा रहेका खानीको उत्खन तथा अन्वेषणमा निजी क्षेत्रलाई सहभागि गर्नका लागि गत चैत १ गतेदेखि खुल्ला प्रतिस्पर्धा मार्फत आह्वान गरेको थियो ।

विभागले विगत १ बर्षदेखि निजी क्षेत्रलाई खनिजजन्य पदार्थ खोजी गर्ने अनुमति दिन रोकेको थियो ।

तर, २०७३ चैत १ गतेदेखि नेपालमा रहेका खानी उत्खन तथा अन्वषेणका लागि इच्छुक विदेशी तथा स्वदेशी कम्पनीलाई खुल्ला प्रतिस्पर्धामार्फत् आह्वान गरेको थियो ।

विभागले नेपालका विभिन्न स्थानमा रहेका १२ वटा खोज तलास र ३ वटा उत्खनका लागि कुल १५ वटा खानीको विस्तृत विवरण सहित टेण्डर माग गरेको थियो ।

विभागले प्रक्रियामा समावेश हुन चाहने कम्पनीलाई डाटा प्याक (खानी उत्खनन्का लागि आवश्यक प्रक्रिया ढाँचा) बिक्री गरेको थियो । खोज तलासका लागि डाटा प्याक १५ हजार रुपैयाँ र उत्खनन डाटा प्याकेट २५ हजार रुपैयाँमा विभागले बिक्री पनि गरेको थियो । विभागका अनुसार एक सयभन्दा धेरै डाटा प्याक बिक्री भएको थियो ।

चैत १ गतेबाट खुल्ला गरिएको डाटा प्याकेजको खोज तलासका लागि ३५ दिन र उत्खननका लागि ५० दिनभित्रमा प्रस्ताव बुझाइ सक्नुपर्ने विभागले जनाएको थियो ।

विभागले १५ वटा खानीका लागि इच्छुक कम्पनीसँग आसय माग गरेको थियो । खोज तलासका लागि छुट्याएको १२ वटा खानीमध्येमा ९ वटा खानी खोज तलासका लागि स्वदेशी तथा विदेशी कम्पनीबाट प्रस्ताव आएको विभागका सिनियर डिभिजनल मेटालोजिस्ट दिलिपकुमार झाले जानकारी दिए ।
यस्तै, उत्खनका लागि छुट्टयाएको ३ खानीमध्ये २ खानी उत्खनका लागि कम्पनीहरुको प्रस्ताव आएको पनि उनले जानकारी दिए ।

कुल १५ वटा खानीमध्ये डाटा प्याक खरिद गर्ने कम्पनीबाट ११ खानीका लागि प्रस्ताव परेको छ । एउटै खानीका लागि एकभन्दा धेरै प्रस्ताव पेश भएकाले कम्पनीहरुको आन्तरिक मुल्यांकनमा विभाग लागि रहेको छ ।

विभागका एक उच्च अधिकारीका अनुसार स्थानीय निर्वाचनका लागि विभागका कर्मचारीहरु निर्वाचन परिवेक्षकका रुपमा खटाइएकाले आन्तरिक मुल्याकन समयमा हुन सकेको छैन ।

‘निर्वाचन सकिसकेकाले कर्मचारीहरु आफ्नो कममा फर्किसकेका छन्, अबको डेढ महिना भित्रमा अन्तरिक मुल्यांकन सकिने छ,’ अधिकारीले क्लिमाण्डूसँग भने ।

कम्पनीहरुले खानी उत्खन र अन्वेषणका लागि इच्छा जाहेर गरेको ३ महिनाभन्दा धरैको समय भएको छ । ३ महिनासम्म पनि विभागले आन्तरिक मुल्याकनको गरेर खानीको जिम्मा दिन सकिरहेको छैन ।

विभागले डेढ महिनाभित्रमा आन्तरिक मुल्यांकनको काम सम्पन गर्ने बताएको छ । अबको २ महिना अर्थात असोज २ गते फेरी २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन हुन गईरहेको छ ।

चुनावका लागि सरकारले कर्मचारीहरुलाई निर्वाचन परिवेक्षकाका रुपमा खटाउने हुँदा निर्वाचनका समयमा सरकारी कार्यालयका कामहरु प्रभावित हुने गरेका छन् ।


पुष्प दुलाल