एनटिसीको बिलिङमा गडबढी, मोबाइल सेवा अबरुद्ध




काठमाडौं । शनिबार रातीदेखि नेपाल टेलिकमको मोबाइल बिलिङ सिस्टममा गडबढी आएपछि देशभरका मोबाइल फोन प्रयोगकर्ता प्रभावित भएका छन् ।

मोबाइलमा पर्याप्त ब्यालेन्स हुँदाहुदै टेलिकमले पैसा सकिएको म्यासेज पठाएर तथा म्यासेज नपठाएरै पनि मोबाइल सेवा अबरुद्ध भएको थियो ।

आइतबार बिहानसम्मा केही मोवाइलहरु सुचारु भए पनि केही मोबाइल अझै अबरुद्ध छन् । अबरुद्ध मोबाइल संचालन गर्न थप रिचार्ज गर्नुपर्ने टेलिकमका इन्जिनियरहरुले जानकारी दिएका छन् ।

ब्यालेन्स नसकिदै सेवा अबरुद्ध भएका मोवाइलको बाँकी ब्यालेन्स सिस्टम सामान्य भएपछि फिर्ता गरिने टेलिकमको भनाइ छ ।

टेलिकम सम्बद्ध एक इन्जिनियरले प्राविधिक समस्या देखिएको बताए । आर्थिक बर्षको अन्तिम दिनको पनि अन्तिम समय (राती करिब १२ बजेतिर) गत आर्थिक बर्षको डाटा ब्यवस्थापन गरी नयाँमा सार्ने क्रममा पर्याप्त प्राबिधिक तयारी नपुगेकोले गडबढी भएको उनको भनाइ छ ।

टेलिकमको सपोर्ट सेन्टर (१४९८) ले बिलिङ लस्टको कारण समस्या आएको जानकारी दियो ।

यस बिषयमा टेलिकम प्रवक्ता प्रतिभा बैद्यले खासै ठूलो समस्या नभएको दाबी गरिन् ।

‘महिनाको अन्तिम दिन भएकोले बिलको हिसाब मिलान गर्दा केही समय केही समस्या देखिएको हुनसक्छ,’ बैद्यले क्लिकमाण्डूसँग भनिन् ।


क्लिकमान्डु