यी हुन् ७ प्रदेशका दर्जनौ आर्कषक गन्तव्य, घुम्न कहाँ जाने ?



काठमाडौं । नेपाल सरकारले सातवटै प्रदेशका महत्वपूर्ण घुमफिर गर्न सकिने महत्वपूर्ण र आर्कषक गन्तव्यहरु सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धनको मुख्य निकाय नेपाल पर्यटन बोर्डले ७ वटै प्रदेशका महत्वपूर्ण रमणीय गन्तव्यको प्रवद्र्धन गर्न लागेको हो । प्रदेशअनुसारका नयाँ र पुराना गन्तव्यहरुको प्रचार विश्वभर गरिने भएको छ ।

प्रदेश नम्बर १

प्रदेशन नम्बर एकको मुख्य आकर्षण सगरमाथा हो । विश्वकै अग्लो चुचुरो सगरमाथाको नामले नेपाललाई विश्वभर परिचित गराउँदै आएको छ । सगरमाथा आरोहणका लागि बर्सेनि युरोप, अमेरिका तथा एसियाली मुलुकबाट सयांैको संख्यामा आरोहणका लागि आरोहीहरु आउने गरेका छन् जसबाट राज्यले करोडौंको राजस्व उठाउँदै आएको छ ।

त्यसको साथै धार्मिक पर्यटनको आकर्षक गन्तव्यको रुपमा ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर समेत प्रदेश नम्बर १ मा रहेको छ । त्यसैगरी इलामको चिया बगान, ताप्लेजुङको पहाडी क्षेत्रमा रहेको लालिगुराँस समेत आकर्षक गन्तव्यको रुपमा रहेको छ । कोशीटपु वन्यजन्तु आरक्षण क्षेत्रलगायत स्थानलाई प्रदेश नम्बर १ को आकर्षक गन्तव्यको रुपमा राखिएको छ ।

प्रदेश नम्बर २

सबै भूभाग तराई क्षेत्रमा रहेको प्रदेश नम्बर २ धार्मिक पर्यटकको लागि मुख्य आकर्षक गन्तव्यको रुपमा विकास हँुदै गएको छ । प्रदेश नम्बर २ को मुख्य स्थान भनेको जनकपुरधाम हो, जहाँ वार्षिक रूपमा हजारांैको संख्याका भारतीय पर्यटकहरू जनकपुरधाम आउने गरेका छन् । त्यसैगरी प्रदेश नम्बर दुईमा मिथिला आर्ट पनि पर्यटकको लागि आकर्षक नयाँ प्रडक्टको रूपमा रहेको छ ।

प्रदेश नम्बर ३

काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रसमेत रहेको प्रदेश नम्बर ३ मा काठमाडौं, भक्तपुर तथा ललितपुरका ऐतिहासिक धरोहरहरु पर्यटकको आकर्षक गन्तव्यको रूपमा रहेका छन् । त्यसैगरी गौरीशंकर हिमालदेखि चितवन राष्ट्रिय निकुञ्जसमेत प्रदेश नम्बर ३ मा रहेको छ । पर्यटन बोर्डले सोहीअनुसार प्रदेश नम्बर ३ को प्रचार सामग्री तयार पारेको छ ।

प्रदेश नम्बर ४

पर्यटकको लागि मुख्य हबको रुपमा विकास भएको पोखरादेखि मनाङ, मुस्ताङ क्षेत्रसमेत प्रदेश नम्बर ४ मा रहेका छन् । साथै प्रदेश नम्बर ४ मा आकर्षक पदमार्गको तथा धार्मिक पर्यटकको लागि मुक्तिनाथ मन्दिरसमेत रहेको छ ।

प्रदेश नम्बर ५

बुद्ध धर्मावलम्बीहरूको आकर्षक गन्तव्यको रूपमा रहेको बुद्धको जन्मस्थलसमेत रहेको लुम्बिनी प्रदेश नम्बर ५ मा रहेको छ । त्यस्तैगरी बर्दिया राष्ट्रिय निकुञ्ज समेत प्रदेश नम्बर ५ मा रहेको छ । साथै पाल्पाको ऐतिहासिक दरबार रानीमहल पनि यो प्रदेशमा पर्छ । प्रदेश नम्बर ५ मा पर्यटक आकर्षणका लागि दर्जनौं गन्तव्यहरू रहेका छन् भने कति नयाँ गन्तव्यको रुपमा विकास हँुदै गएको छ ।

प्रदेश नम्बर ६

सम्भावनै सम्भावना बोकेको प्रदेश नम्बर ६ आकर्षक गन्तव्य भएर पनि ओझेलमा परेको छ । पछिल्लो समय कर्णाली क्षेत्रमा सडक बाटो विस्तारसँगै आन्तरिक र बाह्य पर्यटकहरु घुम्न जाने क्रम बढ्दो छ । प्रदेश नम्बर ६ मा डोल्पामा रहेको से–फोक्सुन्डो ताल, मुगुको रारा ताल तथा जुम्ला क्षेत्र पर्यटकको मुख्य आकर्षक गन्तव्य हुन् ।

प्रदेश नम्बर ७

सुदूरपश्चिम क्षेत्र रहेको प्रदेश नम्बर ७ मा खप्तड राष्ट्रिय निकुञ्ज, शुक्ला फाँटा वन्यजन्तु आरक्षण क्षेत्रसमेत रहेको छ । चाँदनी दोधारा पुल तथा पहाडी जिल्लाहरूको साथै सैपाल हिमालसमेत प्रदेश नम्बर ७ मा रहेको छ । धार्मिक पर्यटकको लागि बडीमालिका क्षेत्र पनि प्रदेश नम्बर ७ को मुख्य आकर्षक गन्तव्यको रुपमा रहेको छ ।


पुष्प दुलाल