क्लिन फिड नीति साउन १ देखि कार्यान्वयन गराउन पत्रकार महासंघको ध्यानकर्षण



काठमाडौं । नेपाल पत्रकार महासंघले आगामी साउन १ गतेदेखि लागू गर्ने तयारी गरिएको क्लिन फिड नीति कार्यान्वयन गराउन माग गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै आगामी साउन १ गतेदेखि पूर्णरूपमा क्लीन फिड कार्यान्वयनबाट कुनै पनि बहानामा पछि नहट्न सरकारको ध्यानकर्षण गराएको छ ।

‘उक्त नीति कार्यान्वयनका सम्मुखमा पुगेर अहिले पुनः विवादित भनाइहरू आएकोमा महासंघ गम्भीर चासो र सरोकार प्रकट गर्दछ,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

पत्रकारहरुको छाता संगठनको रुपमा रहेको महासंघले क्लीन फिड नीति विज्ञापनको विषय मात्र नभएर नेपाली मिडिया उद्योगको विकास र राष्ट्रिय स्वाभिमानसँग पनि प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएको दाबी गरेको छ ।

थुप्रै मुलुकमा अभ्यास भइरहेको र नेपालमै पनि अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त कतिपय मिडिया क्लीन फिड स्वरुपमै प्रसारण भइरहेको परिप्रेक्ष्यमा विदेशी टीभी च्यानलको नेपालमा प्रसारण हुँदा क्लीन फिड नीति लागू गर्न हिच्किचाउनुपर्ने अवस्था नभएको महासंघको ठहर छ ।


क्लिकमान्डु