दुई महिनादेखि टेलिफोन अवरुद्ध, डेढ हजार सेवाग्राही सञ्चारविहीन



जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाका डेढ हजार सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन भएका छन् ।

एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माण कार्य गर्दा अप्टिकल फाइवरमा क्षति पु¥याएका कारण सो अवस्था सिर्जना भएको हो ।

सञ्चारविहीन हुनेमा राजस्व कार्यालय, परिवार नियोजन संघलगायतका सरकारी र गैरसरकारी कार्यालयसमेत रहेका छन् । नेपाल टेलिकम कार्यालय जनकपुरले आयोजनाद्वारा समन्वय गरी निर्माण कार्य नगरिदा अप्टिकल र टेलिफोनका तारलाई क्षति पुर्याएको भनी मौखिक जानकारी दिए पनि  मर्मतबारे कुनै सूचना नदिइएका कारण बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अवस्था सिर्जना भएको छ ।

यसैबीच टेलिकमका कर्मचारी र कार्यालय प्रमुखबीच मर्मतका बारेमा विवादसमेत सिर्जना भएको छ । कार्यालय प्रमुखद्वारा प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, सुरक्षा निकाय र केही सरकारी कार्यालयको टेलिफोन मर्मत गराई अन्य ग्राहकसँग विभेद गरेको भन्दै कर्मचारीका सङ्घ, युनियनले कारबाहीको माग गरेको एक महिना बितिसके पनि कुनै कारबाही वा मर्मत कार्यबारे पहल भएको छैन ।

प्रा डा भोगेन्द्र झाले प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंलाई यस सम्बन्धमा ध्यानाकर्षण गराउँदा टेलिफोन मर्मत कार्यबारे कुरा नगर्न भनी समस्याबाट पन्छिने गरेको गुनासो गरे।

त्यस्तै आयोजनाले खानेपानीका पाइपलाई क्षति पु¥याइ हजारौँ ग्राहकलाई खानेपानीबाट वञ्चित गराएको छ भने नाला निर्माणका लागि प्रयोग गरिएको ह्युम पाइपमा पुरानो नाला नजोडिएका कारण पुरानो नालाको बहाव बन्द भई व्यक्तिको घर कार्यालय नालाको पानीले डुबानमा परेको छ । रासस


क्लिकमान्डु