स्वास्थ्य बीमाको आधा रकम नगरपालिकाले दिने



काठमाडौं। नागार्जुन नगरपालिकाले पारिवारिक रुपमा गर्ने स्वास्थ्य बीमाको आधा रकम दिने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को आज नीति बजेट तथा कार्यक्रम प्रस्तुत गर्दे ५ जना भएको प्रतिपरिवारको २ हजार ५ सय रुपैयाँ लाग्नेमा १ हजार २ सय ५० रुपैयाँ नगरपालिकाले व्यहोर्ने भएको हो ।

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विपन्न परिवारका लागि व्यापार व्यवसाय सञ्चालन लागि हरेक वडाका ५ परिवारलाई ३ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान रकम उपलब्ध गर्न लागेको जानकारी दिए ।

उनले हरेक परिवारलाई सुन्तला, कागती, एवोगार्डोलगायतका फलफुलको विरुवा निःशुल्क वितरण गर्न लागेको बताए ।

‘नगरपालिकाले वडाबाट आएका सिफारिसलाई उच्च प्राथमिकता दिएको छ, हामी जनप्रतिनिधि हौँ, जनताको आवश्यकतालाई उच्च प्राथमिकता दिएका छौं,’ उनले भने ।

नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ का लागि ६४ करोड ७२ लाख ९० हजार रुपैयाँ प्रस्ताव गरेको छ । जसमा चालू खर्च २१ करोड ६९ लाख ९० हजार रुपैयाँ, पूँजीगत खर्च २३ करोड ५३ लाख रुपैयाँ, समपुरक कोष ४ करोड ५० लाख रुपैयाँ र नगरपालिका तथा वडाका भवन निर्माणतर्फ १५ करोड रुपैयाँ छ ।

पहिलो नगर सभाको बैठकमा बजेट प्रस्तुत गर्दे उपप्रमुख सुशीला अधिकारीले वातावरणमैत्री नगरपालिका निर्माण, फोहोरमैला व्यवस्थापन, सडक सौर्य बत्ती जडानलगायतका कार्यलाई उच्च प्राथमिकता दिएका थिए ।

उनले भूकम्पबाट पूर्ण क्षति भएका परिवारलाई जतिसक्दो चाँडो अनुदान रकम उपलब्ध गराउन नगरपालिका लागेको बताउँदै पिडितको घर नक्सापास दस्तुर छुट दिन लागेको बताए ।

यस्तै सुशासन कायम, स्वीजरल्याण्ड पार्क व्यवस्थापन, महिला विद्यालय निर्माण, ज्येष्ठनागरिक दिवा विश्रामस्थल निर्माण, बढी कर तिर्ने करदातालाई प्रोत्साहन, होमस्टे सञ्चालनलगायतका कार्यलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । रासस


पुष्प दुलाल