सुतैकै अवस्थामा हराए कृषि विकास बैंकका कर्मचारी




कुश्मा । कृषि विकास बैंक, कुश्मा शाखामा कार्यरत कर्मचारी विगत ४ दिनदेखि बेपत्ता भएका छन् ।

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका दीपेन्द्र गौडेल असार २२ गतेदेखि बेपत्ता भएका हुन् ।

बुधबार साँझ कार्यालयबाट घर फर्किएर खाना खाएर सुतेका गौडेल बिहिबार बिहान ४ बजेदेखि सम्पर्कमा छैनन् । लामो समयदेखि बैंकमा कार्यरत गौडेल इमान्दार कर्मचारीका रुपमा परिचित रहेका छन् । बैंकमा लेखापाल पदमा कार्यरत उनी सम्पर्कविहीन हुनुको कारण भने पत्ता लागिसकेको छैन ।

४ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतले गौडेल बेपत्ता भएको र खोजी गरिदिने भन्दै कुनै पनि जानकारी र निवेदन नआएको बताएको छ ।

गौडेलका छोरा दिपेश गौडेलले आफ्नो फेसबुक पेजमार्फत आफ्ना पिता दीपेन्द्रशर्मा गौडेलको अवस्था अज्ञात रहेकाले खोजी गरिदिन आग्रह गरेका छन् ।

विगत एक महिनाअघि बेपत्ता भएर कालीगण्डकीमा मृत भेटिएका शिक्षक नारायण पौडेलको घटना सेलाउन नपाउँदै पुनः गौडेल बेपत्ता भएका हुन् । रासस


पुष्प दुलाल